काठमाण्डौ  ।  नेपाली कांग्रेसका सांसद एवम् उद्योगपति विनोद चौधरीले बाँसबारी छालाजुत्ता उद्योगको १० रोपनी जग्गा प्रकरणमा प्रतिशोध साँधेको बताएका छन्। नेपाली कांग्रेस संसदीय दलको बैठकमा सहभागी भएका उनले २०४२ सालमा बाँसबारीको जग्गामा भएको सम्झौता सही भएको बताएका छन्।

‘अहिले हामी व्यापारीमाथि आक्रमण गर्ने तरिकाबाट पक्राउ गरियो। त्यतिबेला बाँसबारीको जग्गाको मूल्य ५ लाख पनि थिएन। हामीले त्यसबेला त्यो जग्गा लिजमा लिएका हौँ’, उनले कांग्रेस बैठकमा भने, ‘यो ठूलो विषय पनि होइन। छानबिन गर्दा हुन्थ्यो। यसरी सरकारले थाहै नदिई हाम्रो प्रतिष्ठामा आँच पुर्‍याउने गरी पक्राउ गर्दा समस्या भयो। हामी छानबिनमा सघाउन तयार छौँ।’बाँसबारी छालाजुत्ता उद्योगको जग्गा नियम र प्रक्रियासंगत रूपमा सीजी ग्रुपले लिएको बताउँदै उनले सरकारले अहिले आएर प्रतिशोध साँधेको उनले बताएका छन्।‘बाँसबारीको जग्गा विधि र प्रक्रियासंगत लिएको हो, नियमसंगत लिएको हो’, उनले भने, ‘सरकारले व्यापारीमाथि अहिले आएर प्रतिशोध साँधेको छ।’

OM Sai Pathibhara Hospital

नेपाली कांग्रेसका अर्का सांसद सुनिल शर्माले बाँसबारी छालाजुत्ता उद्योगको जग्गा प्रकरणबारे संसदीय दलको बैठकमा चौधरीलाई बोल्ने समय दिएको बताएका छन्।‘विनोद चौधरीले बाँसबारीको जग्गाबारे संसदीय दलको बैठकमा आफ्ना कुरा राख्नु भएको छ’, उनले भने, ‘दलका नेताले नै उहाँलाई त्यसबारे प्रष्ट पार्न समय दिएपछि उहाँले प्रष्ट पार्नु भएको छ।’

बाँसबारी छाला जुत्ता उद्योगको जग्गा सीजी ग्रुपको चाँधबाघ स्कुलले नियमविपरीत निजीकरण गरेको भन्दै बिहीबार प्रहरीले विनोदका भाइ अरुण चौधरीलाई पक्राउ गरेको थियो। अदालतले चौधरीलाई हिरासतमा राखेर अनुसन्धानका लागि ४ दिनको म्याद दिएको छ।