काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंस्थित अमेरिकी दूतावासको समन्वयमा नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी अमेरिकाका लागि आवेदन दिने १० जनालाई पक्राउ गरेको जनाइएको छ।
पक्राउ पर्नेमा धनुषाका विवेक उपाध्याय, मकवानपुरका भगवती उप्रेती, लमजुङका रोना गुरुङ, ललितपुरका संजय महर्जन, चितवनका सुमन ढकाल, सिरहाका सक्षम अर्याल, सर्लाहीका सुरज अधिकारी र स्वर्णिम दाहाल, दोलखाका अशोक श्रेष्ठ र पर्साका पुरुषोत्तम मल्लिक छन्।
सन् २०२३ का लागि डिभी परेकाहरूले नक्कली शैक्षिक प्रमाणपत्र पेश गर्न थालेपछि अमेरिकी दूतावासले प्रहरीलाई खबर गरेको थियो। भिसा आवेदनका लागि उनीहरूले एसएलसी र प्लस टूको नक्कली शैक्षिक प्रमाणपत्र पेश गरेको अनुसन्धानबाट खुलेको छ। प्रहरी उपरीक्षक रविन्द्र रेग्मीका अनुसार माघ १६ गते प्रहरीको विशेष टोलीले महाराजगञ्जस्थित अमेरिकी दूतावासबाट विवेकसहित ३ जनालाई नियन्त्रणमा लिएको थियो। विस्तृत अनुसन्धान गर्दै जाँदा उक्त नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संजय महर्जनको संलग्नता रहेको प्रहरीले पुष्टि गरेको थियो।
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ को लिखत सम्बन्धि कसुरमा थप कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरी उपरीक्षक रेग्मीले बताए।






































