काठमाडौँ । भिजिट भिसाको सेटिङमा संलग्न सात जना अध्यागमन अधिकृतहरू विरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

जिल्ला अदालत, काठमाडौँबाट अध्यागमन अधिकृतहरू कुशल बराल, शैलेन्द्र ढकाल, विमल पौडेल, विष्णु अर्याल, विकास डङ्गोल, पीताम्बर रिमाल र सुजन फागोविरुद्ध पक्राउ पुर्जी जारी भएको हो । उनीहरू विरुद्ध माघ ९ मा पक्राउ पुर्जी जारी भएको थियो । परिसरले आइतबार सरकारी वकिलको कार्यालयलाई मुद्दा बुझाएको छ । 

OM Sai Pathibhara Hospital

प्रहरीको अनुसन्धानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयमा संगठीत रूपमै भिजिट भिसाको सेटिङ चलेको देखाएको छ । भिजिट भिसाको सेटिङमा अध्यागमनका कर्मचारीको भूमिकामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । 

थुनामा रहेका अध्यागमन अधिकृत नरवीर खड्का र बिचौलिया माथिको अनुसन्धानका क्रममा थप कर्मचारीको पनि संलग्नता पुष्टि भएपछि उनीहरूको खोजी भइरहेको हो । भिजिट भिसा प्रकरणमा ३९ जना पक्राउ परेकामा किर्ते कागजपत्र बनाउने समूहविरुद्ध अदालतमा मुद्दा दायर भइसकेको छ ।