काठमाण्डौ  ।   मधेश कृषि विश्वविद्यालय शिलान्यासको विवादले प्रदेश सरकारमा खैलावैला भएको छ। विश्वविद्यालयको भवन शिलान्यासका क्रममा सोमवार राजविराजमा झडप र पार्टीबाट नेतृत्व गरेका सांसद र मन्त्रीले प्रहरीको कुटाई खाएपछि सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ।

मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले मंगलबार पदबाट राजीनामा दिएका हुन्। जनमतको मधेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र समर्थन फिर्ता लिने निर्णय गरेको जनमत पार्टीका सचिव वीपी साहले बताएका छन।

OM Sai Pathibhara Hospital

मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन्। जनमत पार्टीका प्रवक्ता शरद सिंहले सरकार गठन भएको एक वर्षपछि सरकारको नेतृत्व जनमतलाई दिने सहमति जनता समाजवादी पार्टीले उल्लंघन गरेकाले सरकार छाडेको बताएका छन।

आन्तरिक सहमति जे सुकै भएपनि वाहिर कारण भने विश्व विद्यालय नै देखिएको छ। जनमत पार्टीको विरोधका बीच जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले सोमवार मधेश कृषि विश्वविद्यालयको भवन शिलान्यास गरेका छन्।

राजविराज नगरपालिका–१३, मा निर्माण गरिन लागेको भवनको अध्यक्ष यादवले शिलान्यास गरिरहँदा प्रहरी र जनमत पार्टीका नेता–कार्यकर्ता बीच झडप भएको थियो। झपडमा शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेशसभा सदस्यहरु सतिशकुमार सिंह, भाग्यश्री चौधरी, रञ्जु खंग लगायतले प्रहरीको कुटाई खाएका थिए। उनीहरु सबै जनमत पार्टीका प्रदेशसभा सदस्य हुन् । जनमत पार्टीले शिलान्यास कार्यक्रम स्थगित गर्न माग गरेको थियो। मन्त्री तथा विश्वविद्यालयका सहकुलपति महेशले नै विज्ञप्ति निकालेर शिलान्यास स्थगित गर्न माग गरेका थिए भने अध्यक्ष सीके राउतले शान्ति सुरक्षा कायम गर्न शिलान्यास कार्यक्रम रोक्न गृह मन्त्रालयलाई पत्र नै लेखेका थिए।

तर जसपा अध्यक्ष यादव र मधेश सरकारका मुख्यमन्त्री सरोजकुमार यादवले शिलान्यास कार्यक्रम रोकेनन्। सतहमा यही विषय अहिले उत्कर्षमा देखिएको हो। तर, खासमा मधेश केन्द्र बनाएर राजनीति गरिरहेको जसपा र जनमतले एकअर्कालाई निषेध गर्ने तहमै पुग्दा यो अवस्था आएको हो।

अझ गत वर्ष सम्पन्न आम चुनावबाट राउतले उपेन्द्र यादवलाई हराउँदै उनी नेतृत्वको जनमत पार्टी मधेशकै प्रमुख शक्ति बनेपछि संघर्ष चर्कियो। राष्ट्रिय राजनीतिको एउटै कित्तामा उभिएका दुवै दल संघ र प्रदेश सरकारमा सँगै थिए। एमालेसँग मिलेर चुनाव लडेको जसपा सत्ताकै लागि कांग्रेस नेतृत्वको गठबन्धनमा छ भने नयाँ शक्ति बनेर उदाएको जनमत पनि सत्ताकै पुच्छर भएको छ।

दुवै पार्टीमा सत्ता र सत्तारुढभित्रै संघर्ष चलिरहेको छ। आगामी ११ माघमा तय भएको राष्ट्रियसभा चुनावमा जसपाकी पूजा चौधरी सत्ता गठबन्धनबाट मधेशको महिला कोटामा उम्मेदवार छन् भने कांग्रेसका आनन्दप्रसाद ढुंगाना (अन्य कोटातर्फ) छन् । तर सत्तारुढभित्रै रहेर जनमतले अन्य कोटातर्फ रामाशंकर महासेठको उम्मेदवारी दिएको छ। जसपाले मात्रै गठबन्धनबाट भाग पाएपछि जनमतले अलग्गै उम्मेदवारी दिएको हो।

यसअघि पनि गठबन्धनभित्रै रहेर जनमतले फरक उम्मेदवारी दिदै आएको छ। गत १० वैशाखमा सम्पन्न उपनिर्वाचनमा जनमतले बारा–२ मा सत्ता गठबन्धनविरुद्ध बलियो चुनौती दिएको थियो।

स्रोतका अनुसार, आफैसँग चुनाव हारेका उपेन्द्रलाई उपनिर्वाचन गरेर संसदमा ल्याउने प्रस्ताव आउँदा राउतले उपराष्ट्रपति मागेका थिए। तर उपराष्ट्रपति र बारा–२ दुवै छोड्न यादव तयार भएनन्। यी घटनाक्रमबीच जसपा र जनमत संघीय सरकारका सहयात्री छन्, मधेश प्रदेशमा आलोपालो मुख्यमन्त्रीकै सहमति भएको थियो। त्यो सहमति कार्यान्वयनमा नआउँदा ५ माघको बलिदानी दिवस समेत जसपा र जनमतले अलग–अलग मनाए।

यसरी सार्वजनिक घटनाक्रममा मात्रै नभएर जसपा र जनमतबीच सत्तारुढ गठबन्धनभित्र समेत एकअर्कालाई निषेध गर्नेगरी नेताहरु प्रस्तुत हुने गरेको सतहमै आएको छ।