काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले घटनाको अध्ययन गर्न गठित आयोगका संयोजकमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएका छन्।
बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले आयोग पक्षपाती ढंगले कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। कटुवालले आफू आयोगसँग कुरा गर्न जाँदा संयोजकले दुर्व्यवहार गरेको र प्रयोग गरिरहेको औषधिसमेत रोक्न बाध्य बनाएको दाबी गरे।
उनका अनुसार आयोगले प्रारम्भिक प्रतिवेदन र अन्तिम प्रतिवेदनमा उल्लेख्य फरक प्रस्तुत गरेको छ। “छोरो जर्मनीमा जाँदा फेल भएको रहेछ भनेर कुराकानीमै औंल्याउने, र अन्ततः सारा दोष मृतक कोपाइलटमाथि थुपार्ने ? मरेर गएकाको आत्मा समेत नरुनु पर्ने हो,” कटुवालले गहभरि आवाजमा भने।
उनले दुर्घटनाको बेला जहाजको कमान्ड क्याप्टेनको हातमा रहे पनि कोपाइलटमाथि मात्र संकास्पद ढंगले आरोप लगाइनु अन्यायपूर्ण भएको बताए।
गत २०८१ साउन ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परि १८ जनाको ज्यान गएको थियो। आयोगले हालै सो घटनासम्बन्धी प्रतिवेदन समितिमा बुझाएको छ।