एजेन्शी । भारतको उत्तर प्रदेश राज्यस्थित अयोध्या नगरमा बनाइएको भव्य राममन्दिरको उद्घाटनका अवसरमा आयोजित विशेष समारोहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहभागी भए। सन् १९९२ मा हिन्दूहरूको भिडले भत्काइदिएको १६औँ शताब्दीको मस्जिदलाई त्यसले विस्थापन गरेको छ। उक्त विध्वंसपश्चात् देशभरि दङ्गा फैलिँदा झन्डै २,००० जनाको ज्यान गएको थियो।

मन्दिर निर्माणले उक्त तनावग्रस्त नगरमा रामको मन्दिर बनाउने हिन्दू राष्ट्रवादीहरूको दशकौँ पुरानो वाचा पूरा भएको छ। हिन्दूहरू रामलाई भगवान् विष्णुको अवतार मान्छन्। उनलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ।अयोध्यामा आयोजित विशेष समारोहमा हजारौँ निम्तालुहरू सहभागी भएका थिए। तीमध्ये भारतीय चलचित्र उद्योगका हस्तीहरू र ख्यातिप्राप्त क्रिकेटहरू पनि थिए।तर, केही हिन्दू सन्त नेता तथा विपक्षीहरू भने मन्दिरमा हुन लागेको प्राणप्रतिष्ठालाई नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उक्त कार्यक्रममा सहभागी भएनन्।अयोध्या रामको जन्मभूमि भएको अनि रामको जन्मस्थानमा रहेको मन्दिर मुस्लिम अतिक्रमणकारीहरूले भत्काएर त्यहाँ बाबरी मस्जिद ठड्याएको कैयौँ हिन्दूहरूले विश्वास गर्छन्।

OM Sai Pathibhara Hospital

विभिन्न टेलिभिजन च्यालनहरूले प्राणप्रतिष्ठा र त्यसपछि आयोजित विशेष समारोहको प्रत्यक्ष प्रसारण गरेका थिए। मन्दिरको गर्भगृहमा मोदीले राष्ट्रिय स्वयंसेवक सङ्घ (आरएसएस) का प्रमुख मोहन भागवत् तथा पण्डितहरूको उपस्थितिमा विशेष पूजा गरेका थिए।भाजपा आरएसएसको विचारधाराबाट प्रेरित भएको मानिन्छ। प्राणप्रतिष्ठाको कार्यक्रम झन्डै एक घण्टा चलेको थियो। कुनै नवनिर्मित मूर्ति वा तस्बिर प्राणप्रतिष्ठा गरेपछि मात्र पूजायोग्य हुने मान्यता छ। अहिले मन्दिरको भुइँतलाको मात्र उद्घाटन भएको हो।


सोही स्थानमा राममन्दिर बनाउने अभियान चलाएकै कारणले भारतीय जनता पार्टीको सन् १९९० को दशकमा राजनीतिक उदय भएको ठानिन्छ। झन्डै २१ करोड ७० लाख अमेरिकी डलरको लागतमा बनेको नयाँ मन्दिर तीनतले छ।पिङ्क स्यान्डस्टोन तथा ब्ल्याक ग्रनाइटले बनेको उक्त संरचना ७.२ एकडमा फैलिएको छ। समग्र मन्दिर परिसर झन्डै ७० एकडमा फैलिएको छ। मन्दिरको बाँकी भागको निर्माण कार्य यो वर्षको अन्त्यतिर सम्पन्न हुने ठानिएको छ।

मन्दिरमा राख्न बनाइएको करिब सवा चार फिट अग्लो रामको मूर्ति गत साता मात्र सार्वजनिक गरिएको थियो। मूर्तिलाई मन्दिरको गर्भगृहमा रहेको सिङ्गमरमरको आसनमा विराजमान गराइएको छ।सोमवारको समारोहमा रामको प्रतिमामा प्राणप्रतिष्ठा गरियो। त्यस क्रममा धार्मिक परम्पराअनुसार मन्त्रोच्चारण एवं वैदिक विधिविधानमार्फत् मूर्तिलाई ‘जीवन्त’ बनाइएको थियो।