काठमाण्डौ   ।    आज बिहानैदेखि पुसे औंसी धाम नदिकिनारमा श्राद्ध गर्नेहरूको भीड लागेको छ। पुसे औंसीका दिन बर्सेनि हजारौं श्रद्धालुहरू दिवंगत भएका आफ्ना पितृका नाममा श्राद्ध, दान, तर्पण गर्ने गर्छन्। 

पौष कृष्ण औँसी अर्थात् पौसे औँसी। तीर्थमा श्राद्ध गर्ने दिनको रूपमा यसको महत्त्व छ।  यो तिथिमा विभिन्न तीर्थस्थलमा पुगेर पितृहरूलाई तर्पण, श्राद्ध गर्ने चलन छ। काठमाडौंको गोकर्ण, उत्तरगया र रसुवाको वेत्रावतीलगायत तीर्थस्थलमा श्राद्ध गर्नेको घुइँचो लाग्छ। 

OM Sai Pathibhara Hospital

स्वर्गीय बाबु-आमा तथा आफन्तको नाममा भक्तजनहरूले अहिले नदी किनारमा श्राद्ध गरिरहेका छन्। पितृको नाममा श्राद्ध गर्नेहरूको संख्या बर्सेनि बढ्दै गइरहेको छ। भारतको गया जान नसकेका श्रद्धालुहरू नेपालको यही ठाउँमा आएर श्राद्ध गर्ने गर्छन्।

यस स्थानमा आएर परलोक भएका आफ्ना बाबु-आमाको नाममा श्राद्ध गरेमा २० पुस्ता अघिका पितृमोक्ष प्राप्त गरी स्वर्ग जाने जनविश्वास रहिआएको छ।

पितृको नाममा हिन्दु तथा बौद्ध धर्मावलम्बीहरूले श्राद्ध, दान, तर्पण गर्ने गर्छन्। स्कन्द पुराणको हिमवत् खण्डमा उल्लेख भएअनुसार उत्तरगया क्षेत्रमा त्रिशुली नदी र देवी गंगा नदी बगेकाले उक्त पवित्र ठाउँलाई बेत्रगंगा भनेर मानिएको छ। यस क्षेत्र आएर श्राद्ध गरेमा पितृहरू उद्धार भई स्वर्ग जाने विश्वास रहेको छ।

सत्ययुगमा देवता र दानवले समुद्र मन्थन गर्दा निस्केको कालकुट विषले संसार भष्म पार्न लागेपछि महादेवले कालकुट नामक विष पिएर त्यसको डाहा मार्न यही ठाउँमा बेतको लौरोले खोस्री बेत्रगंगा (तप्त नदी) उत्पन्न गराई सो नदीको पानीले शीतलता पाई उत्तरापन्थ गोसाइँकुण्ड गएको धार्मिक किंवदन्ती रहेको छ।