काठमाडौँ । प्रहरीले ‘तपस्वी’ राम बहादुर बम्जन (तपस्वी) लाई पक्राउ गरेको छ । उनी काठमाडौँको बुढानिलकन्ठबाट पक्राउ परेका हुन् । 

बाराको हलखोरिया जंगलमा तपस्या गरेर चर्चा कमाएका बम्जनलाई केन्द्रिय अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले बताए। 

OM Sai Pathibhara Hospital

बम्जनको आश्रमबाट आनिसहित ४ जना सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले लामो समयदेखि उनलाई खोजी रहेको थियो । 

बम्जनको सिन्धुपाल्चोक इन्द्रवती गाउँपालिका स्थित बाँडेगाउँ र सिन्धुलीको आश्रममा यसअघि छापा मारेको थियो ।

आफ्ना अनुयायीहरुमाथि बलात्कार र हत्या हिंसा गरेको आरोप उनीमाथि छ।‘तपस्वी’ रामबहादुर बमजनलाई अदालतमा उपस्थित हुन भन्दै प्रहरीले उनको घरमा २०७७ सालमा सूचना टाँस गरेको थियो। तर उनी अदालतमा उपस्थित भएका थिएनन्। फरार रहँदै आएका थिए।

उनी फरार भएपछि बाराको निजगढ नगरपालिका १२ रतनपुरीस्थित बमजनको पुर्खौली घरमा तत्कालीन वडाध्यक्षको रोहबरमा सूचना टाँसिएको थियो।

कहिले जंगल त कहिले भारतमा लुकेर प्रहरीलाई छल्न सफल बम्जन अन्ततः कानुनी फन्दामा आइछाडे। पक्राउ पर्दा उनले दुई तलामाथिबाट हाम्फालेर भाग्ने प्रयास गरे तर घर घेरा हालेर छापा मारेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) को टोली सामु यसपालि भने उनी निरीह बने।