काठमाण्डौ । प्रत्येक वर्ष मार्ग कृष्ण चतुर्दशीमा पर्ने बालाचतुदर्शी पनि नेपाली जनजीवनमा एउटा महत्वपूर्ण र आफ्नै मौलिकता बोकेको पर्व हो । बालाचतुर्दशीको सम्बन्ध पशुपतिनाथसँग रहेको कुरालाई हिमवत्खण्ड, नेपाल माहात्म्य तथा शिवपुराणले वर्णन गरेका छन् । हिमवत्खण्डको बयालीस अध्यायमा यस पर्वको उत्पत्ति परम्पराबारे के बताइएको छ भने मृगरूप लिएर भगवान् शिवले जहाँजहाँ घुम्नुभयो, खानुभयो, सुत्नुभयो, हिंड्नुभयो, बिहार गर्नुभयो त्यो पुण्यक्षेत्र भएकाले त्यहाँ सप्तधान्य (शतबीज) छर्दा एउटा धानको गेडा छरेको पनि एक रती सुवर्ण छरेको बराबर हुन्छ भनी हरिणेश्वर शिवजीले आकाशमार्गबाट बताएको भनी हाम्रो शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।
शतबीज त्यस वर्ष दिवंगत भएका आफन्तको चिर शान्ति, मंगल र पुण्यको कामना गरी बन क्षेत्रमा छर्ने चलन छ । यो लगातार तीन वर्षसम्म छर्ने र तीन वर्षमा चतुर्थी गरी होम गर्ने चलन नेपाली समाजमा अद्यावधिक रहँदै आएको छ । शतबीज छर्ने पर्वको परम्परा कहिलेबाट बस्यो भन्ने जनश्रुतिअनुसार कैलाशबाट भगवान् शिव श्लेष्मान्तक वनमा आई अत्यन्त आकर्षक मृगरूप धारण गरी बसेको वषौँवर्ष बितेको पत्तै भएन । माता पार्वतीलगायत समस्त देवीदेवताहरूलाई ज्यादै पिर पा¥यो। भोलेबाबा कहाँ हुनुहुन्छ भनी दिव्यदृष्टिले हेर्दा त भगवान् मृगरूप धारण गरी पशुपति क्षेत्रमा वन विहार गरिरहनुभएको देवी पार्वतीले थाहा पाउनुभयो । शिवरूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले थाहा पाउनुभयो, शिवरूपी मृगलाई चिन्न र आकर्षण गर्न माता पार्वतीले विभिन्न किसिमको बीज छर्नुभयो । केही हप्तापछि छरिएका बीउहरू उम्रिएर हरियो घाँस भए पछि घाँस देखेर मृगहरू लेभिएर आउन थाले आएका मृगमध्ये मृगरूपी भोलेबाबालाई चिन्न माता पार्वतीलाई सजिलो भयो । यसरी देवी पार्वतीद्वारा सुरुआत भएको शतबीज छर्ने प्रथा कालान्तरमा जीवन संस्कृति बन्यो र युग युगसम्म कायम भइराखेको छ, रहिरहनेछ ।
शतबीज भन्नाले खास गरी शय चिजका गेडागुडीहरू भन्ने बुझिन्छ । यी शतबीजमा प्रयोग गरिने अन्नहरूमा गहुँ, सरस्र्यूँ, मकै, जौ, धान, बयर, अमला र अन्य फलफूल तथा कन्दमूलका टुक्राहरू पर्दछन् । शतबीज छर्न नेपालका विभिन्न भागहरू लगायत मित्रराष्ट्र भारतबाट समेत पशुपतिनाथको मन्दिरमा घुइँचो लाग्ने गर्दछ । मानिसहरू आउँछन् त्रयोदशीका दिन महाद्विप बाली पशुपति वरपर बस्छन् र भोलिपल्ट बिहान सप्तधान्य छर्दै हिँड्छन् । यस दिन टाढा जान असमर्थ कतिपयले नजिकको तीर्थ स्थल मन्दिर, देवालयमा गई शिव प्रार्थना गरी रातभर जाग्राम बस्ने प्रचलन पनि छ । शतबीज छरिसकेपछि खिर, फलाहार, दही, च्युरा, पुलाउ इत्यादि मिष्ठान्न पदार्थ भोजन गरी खैजडी, मुजुरा, मादलका साथै शिवलीला, कृष्ण चरित्रसम्बन्धी भजन–कीर्तन गाइने परम्परा नेपाली समाजमा छ । हाम्रो समाजमा दुई थरी विश्वास बोकेका मानिसहरूको शतबीज छर्ने प्रचलन छ ।
एकथरी अघिल्ला वर्षहरूमा आफ्नो परिवारजनको स्वर्गारोहण हुनेले मात्र मृतात्माको स्मृतिमा शतबीज छदैं चिरशान्तिको कामना गर्ने र अर्काथरी पुण्य कमाउने आशाले गर्दछन् । सार्वजनिक रूपले शतबीज छर्ने अघिल्लो दिन अर्थात् मार्ग कृष्ण त्रयोदशीको दिन भगवान् पशुपतिनाथलाई किमती गरगहना पहिराइन्छ । सक्कली एकमुखे रुद्राक्ष, नागमणिजस्ता वस्तुहरू ढुकुटीबाट झिकिन्छन् । त्यसरी झिकिएका वस्तुहरू मार्ग कृष्ण औंसीको दिन भण्डारमा पुनः राखिन्छन् । बालाचर्तुदशीको दिन मध्यरातमा अन्तिम शतबीज छरिन्छ । जसलाई ‘कएन्या’ भनिन्छ । यो कार्य सम्पन्न भएपछि त्यस वर्षको शतबीज छर्ने कार्य समाप्त हुन्छ । बालाचर्तुदशीको दिनदेखि पशुपतिनाथलाई तातो पानीले गराइन्छ । चैत्र कृष्ण चतुर्दशीसम्म प्रतिदिन त्यसरी नै स्नान गराइन्छ । शतबीज छर्दा महत्व बुझ्नेहरू सबेरै वाग्मतीमा नुहाएर ‘सुवर्णरत्तिकातुल्यं ब्रीहिमेकं परिक्षिपेत् मृगस्थलीं परिभ्रम्य पुनर्जन्म न विद्यते’ भनी मन्त्र पढ्छन् ।
शतबीज छर्नेहरूको घुइँचोसँगै काठमाडौं उपत्यकामा जाडो भित्रिन्छ भन्ने पुरानै उखान हो । यस दिन बौद्धधर्मावलम्बीहरू स्वयम्भूमा शतबीज छर्न धाउने गर्छन् । पितृहरूको नाममा लामा, शेर्पा, तामाङ, गुरुङ आदि जनजातिहरूले अन्न, फलफूल छर्ने गरेको पाइन्छ । सो दिन देवताहरूको पनि जात्रा हुने भन्ने धार्मिक विश्वास उनहिरूको छ । देवताहरूको पनि देवता पशुपतिनाथको दर्शन गरिसकेपछि उपत्यकाभित्र रहेका महत्वपूर्ण मन्दिरहरूमा पनि दर्शनार्थीको ीभड लाग्ने गर्दछ । मार्ग कृष्ण त्रयोदशीको साँझदेखि पशुपतिनाथको सेरोफेरो र कैलाश डाँडाको मृगस्थलीमा मानिसको रेलो लाग्न थाल्छ । पसलेहरू सकेसम्म राम्रो ठाउँ ओगटेर पाल हाली बजार बसाल्न थाल्छन् । अनि अरू यात्रुहरू जहाँजहाँ मिल्छन्, त्यहीँत्यहीँ आफ्ना डफ्फाका साथ आसन बसाउँछन् साँझ पर्दा सम्ममा कैलाशको चौरमा खुट्टो राख्न पनि मुस्किलले पाइने स्थिति हुन्छ । साँझ परेपछि धार्मिक अनुष्ठान सुरु हुन्छ।
एकातिर परिवारका मूली वा जिम्मेवार व्यक्तिहरू पशुपतिको मूल बत्तीबाट पितृका नाउँको दियो वा महाद्विप, जीवनदीप आदि जगाएर रातभर त्यसको संरक्षण गरेर बस्छन् भर्ने अर्कातिर मादल र बाँसुरीको तालमा नाँच्ने पनि हुन्छन् । अनि केही धार्मिक प्रवृत्तिका रसिक पाकाहरू पनि बैंसको स्मृतिमा भजन, चुड्का, कीर्तन आदि गरेर कठोर रातको पीडालाई केही मत्थर बनाउने प्रयत्न गर्छन् । त्रयोदशीको त्यो रात टाढाबाट असंख्य मौरीको भुनभुनले भरिएको रातझैँ सुनिन्छ । कैलाशतिर हेर्दा त्यसको थाप्लो धपक्क बलेर त्यसको प्रकाशले चुकजस्तो गाढा अन्धकार आकाशलाई छेड्ने ठूलो प्रयत्न गरिरहेझैँ देखिन्छ । अनि चतुर्दशीको दिनचाँहि बिहान सबेरै महादीप वा दीप लगेर वाग्मतीमा सेलाइन्छ र मानिसहरू नुहाइधुवाइ पशुपतिनाथको पूजा गरी शतबीज छर्ने कार्य गर्दछन् ।
हाम्रो समाजमा आ–आफ्नै संस्कृति छन् । त्यसैगरी हाम्रो समाजमा भने प्राचीनकालदेखि नै मानिआएको धर्मसंस्कृतिलाई नै महत्व दिइएको पाइन्छ । यी विभिन्न धार्मिक कार्यमध्ये शतबीज छर्ने पनि एक महत्वपूर्ण कार्य हो । त्यसैले, गर्दा हिन्दूधर्मालम्बीहरू शतबीज छर्ने कार्यमा सधै लालयित रहेको पाइन्छ । यस कार्यको लागि त्रयोदशीका दिन राती पशुपतिक्षेत्र खास गरी कैलाशको थाप्लामा दीप महादीप बालिदिएमा जीवात्मा कुनै कारणवश शून्यमा मार्ग नपाई अन्धकारमा भट्किरहेका भए पनि त्यस दीपका प्रकाशले मार्ग पाई पितृलोकमा जान सक्छ र श्लेषमान्तक क्षेत्रमा शतबीज छर्दा एक गेडा अन्न बराबर एक तोला सुन दानको पुण्य मृतकलाई मिल्छ भन्ने गहिरो जनविश्वास छ । यो पर्व नेपाली संस्कृतिको एक महत्वपूर्ण अंग हो र हिन्दू धर्मावलम्बीहरूले यसलाई बढो हर्षोल्लासका साथ मनाइने गरेको पाइन्छ । धार्मिक आस्था तथा परम्पराको विश्वासको आधारमा नै शतबीज छर्ने कार्य गर्ने गरिन्छ । यसबाट सबैको कल्याण हुन्छ बिस्वास धार्मिक बिस्वास छ ।
बाला चतुर्दशीसँग जोडिएको कथा
बाला चतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मुर्दा घाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो । सो गिदीसँगै च्युरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए ।
त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एक जना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बाला सुरको मित वृषसिंहमार्पत् उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिनुभएको थियो । मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवङ्गत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो ।
माता पिता दिवङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीपदान एवं शतबीज रोपण गर्नु नहुने धर्मशास्त्रविद् गौतमले सुनाउनुभयो । धर्म सिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजा आज त परको कुरा नाम समेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पनि पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको विभिन्न ग्रन्थमा उल्लेख गरिएको छ ।