काठमाडौं— साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारका सबै सूचक बढेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा १८.३० अंक बढेको छ । सो वृद्धिसँगै २८५० मा कायम भएको छ ।

बजार खुलेपछि आज कुनै पनि समय रातो हुन पाएन । कारोबार क्रममा दिउँसो २ः०४ बजे नेप्से परिसूचक २८६१ अंकसम्म पुगे पनि अन्तिम समयमा केही बिक्री चापले अंकलाई सामान्य प्रभाव पार्‍यो ।

१८७ कम्पनीको मूल्य बढ्दा ६२ को घट्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ७ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५३ करोडको भयो । फाइनान्स समूहको सूचक सबैभन्दा धेरै १.३८ प्रतिशत बढ्यो ।

बैंकिङ ०.४३, विकास बैंक ०.४२, होटल तथा पर्यटन ०.६०, हाइड्रोपावर ०.७५, लगानी ०.३०, जीवन बीमा ०.७६, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स ०.३६, निर्जीवन बीमा ०.४२, अन्य १.०३ तथा व्यापार ०.९९ प्रतिशत बढे ।