काठमाडौं। नेपाली कांग्रेसभित्रको संस्थापन इतर समूहका नेता मोहनबहादुर बस्नेतले अब केवल ‘एकता’को नारा लगाएर समय खेर फाल्ने अवस्था नरहेको बताएका छन्। बीपी स्मृति दिवसको कार्यक्रममा बोल्दै उनले इतर पक्षले तत्काल केन्द्रीय भेला बोलाएर संगठन विस्तारको अभियान सुरु गर्नुपर्ने धारणा राखे।
बस्नेतले संस्थापन पक्ष वडा अधिवेशनको तयारीमा लागिसकेको अवस्थामा इतर समूह निष्क्रिय बस्न नहुने बताए। देशभर समानान्तर भ्रातृ संगठन गठन गर्दै महिला, विद्यार्थी र युवालाई सक्रिय रूपमा परिचालन गर्नुपर्नेमा उनले जोड दिए।
उनले सातै प्रदेशमा प्रदेशस्तरीय भेला सम्पन्न गरी त्यसलगत्तै केन्द्रीय भेला आयोजना गरेर समूहको भावी रणनीति र संगठनात्मक दिशा स्पष्ट गर्नुपर्ने प्रस्ताव पनि अघि सारे।
बस्नेतले यो अभियान पार्टी फुटाउनका लागि नभई कांग्रेसभित्र वैकल्पिक र बलियो राजनीतिक शक्ति निर्माणका लागि भएको दाबी गरे। गगन थापालगायत लोकतन्त्रवादी नेताहरूसँग मिलेर कांग्रेसलाई थप सशक्त बनाउने अभियान अघि बढाउनुपर्ने उनको भनाइ थियो।






































