काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद फेरि सतहमा आएको छ। बीपी स्मृति दिवसको कार्यक्रममा नेता तथा पूर्वमुख्यमन्त्री केदार कार्कीले महामन्त्री गगन थापामाथि कडा राजनीतिक आक्रमण गर्दै उनी बाह्य शक्तिबाट प्रभावित भएको आरोप सार्वजनिक गरेका छन्।

कार्कीले पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले वर्षौँअघि गगन थापाबारे व्यक्त गरेको आशंका अहिलेको राजनीतिक घटनाक्रमले पुष्टि गरिरहेको दाबी गरे। उनले गगन थापाको राजनीतिक गतिविधि र आर्थिक स्रोतबारे आफूहरू जानकार रहेको संकेत गर्दै गम्भीर प्रश्न उठाए।

यति मात्र होइन, कार्कीले गगन थापाले सिफारिस गरेका एक उपकुलपतिको मृत्युको प्रसंगसमेत जोड्दै त्यसको वास्तविक कारण आफूहरूलाई थाहा रहेको दाबी गरे। साथै, कांग्रेसभित्रको वर्तमान अवस्थाबाट समाधान ननिस्किए नयाँ राजनीतिक बाटो रोज्नुपर्ने अवस्था आउन सक्ने संकेत पनि दिए।

कार्कीको यो अभिव्यक्तिले कांग्रेसभित्रको शक्ति संघर्ष थप चर्किने संकेत दिएको छ। हालसम्म गगन थापाको तर्फबाट यी आरोपबारे कुनै औपचारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।