काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापन फेरि प्रभावित हुने संकेत देखिएको छ।

बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्रका स्थानीयले स्थायी रूपमा फोहोर फाल्न रोक लगाउने आन्दोलनको तयारी थालेका छन्। यसका लागि बञ्चरेडाँडा ल्याण्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले साउन १० गते बालाजुस्थित एक पार्टी भेन्युमा सर्वपक्षीय छलफल आयोजना गरेको छ।

छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीका नुवाकोट र धादिङ जिल्ला नेतृत्व तथा धुनीबेँसी नगरपालिका र ककनी गाउँपालिकाका जनप्रतिनिधिलाई सहभागी हुन आग्रह गरिएको छ। समितिका अनुसार छलफलपछि आन्दोलनका कार्यक्रम सार्वजनिक गरिनेछ।

स्थानीयले सरकारले पटक–पटक गरेको सम्झौता कार्यान्वयन नगरेको र प्रभावित बासिन्दाको समस्या समाधानमा बेवास्ता गरेको आरोप लगाएका छन्। दुई दशकदेखि काठमाडौं उपत्यकाको फोहोर बञ्चरेडाँडामा व्यवस्थापन हुँदै आएको छ। स्थानीयका अनुसार दुर्गन्ध, वातावरणीय प्रदूषण र पानीका स्रोत दूषित हुँदा जनजीवन कष्टकर बनेको छ।

प्रभावित क्षेत्रका बासिन्दाले स्थायी समाधान नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।