काठमाडौं – विश्व सनातन धर्म सेवा ट्रस्टका कथा वाचक परम पूज्य पण्डित डा. काशीनाथ मिश्रले सनातन धर्मको प्रचार गर्न आवश्यक रहेको बताएका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको बताउँदै सनातन धर्मको प्रचार गर्नु आवश्यक रहेको बताए ।

उनले भने,‘हामी सबै विश्वका सनातन धर्म मान्नेहरु मिलेर काम गर्न आवश्यक छ । म राजनीतिक संगठनमा छैन् ,कहिल्यै हुन्न पनि । तर धर्मनीति कहिल्यै छाड्दिन । किनकी धर्म नीतिसँगै हाम्रो उत्पत्ति भएको हो । पछिल्लो समय सनातन धर्मको प्रचार कम हुने गरेको छ । सनातन धर्मको प्रचार गर्नु आवश्यक छ । सनातन धर्म जस्तो उत्कृष्ट धर्म अरु कुनै छैन् ।’

त्यस्तै उनले आफूले विश्व सनातन धर्म सेवा ट्रस्टमा ४० वर्ष काम गरेको तर अहिलेसम्म एउटा पनि शिष्य नबनाएको बताए । शिष्य बनाउँदा र आफ्नो आश्रम बनाउँदा भ्रष्टाचार हुने भएकाले आफूसँग दुईवटै कुरा नराखेको उनी बताउँछन् ।

उनले भने,‘म एउटा कुरा स्पष्ट गर्न चाहन्छु । मैंले विश्व सनातन धर्म सेवा ट्रस्टमा ४० वर्ष काम गरें तर मैंले एउटा पनि शिष्य बनाएको छैन् । गुरु शिष्यको बन्धन बन्नाले भ्रष्टाचार सुरु हुन्छ । किनकी शिष्यको कर्म कर्तव्य हुन्छ । गुरुको मद्दत गर्न आर्थिक रुपमा नै पनि महिनामा केही दिनुपर्ने हुन्छ । तर हाम्रो परम्परामा यस्तो केही छैन् । सबैभन्दा ठूलो कुरा हाम्रो आफ्नो आश्रम पनि छैन् । आश्रमले पनि भ्रष्टाचार गराउँछ ।’

आज कलियुगका कारण  सनातन धर्मको नाममा पनि विभेद भइरहेको पनि उनको भनाई छ ।

आज सनातन धर्मको नाममा पनि विभेद भइरहेको छ । कलियुगका कारण पनि यो विवादहरु भइरहेको हो । तर पनि म नेपाल आएको छु । नेपाली होस् भारतीय होस् या अन्य कोही हिन्दु हिन्दु नै हुन्छ । म यो कुरा मर्नेबेलासम्म पछ्याउँने छु,’उनले भने । विभिन्न किसिमका धर्मको नाममा गलत प्रचार गरिने गरेको बताउँदै उनले त्यसको अन्त्य हुनुपर्ने धारणा राखे ।