काठमाडौं— नेवार समुदायले आज साउन कृष्ण चतुर्दशीको अवसरमा गाथामुग चह्रे अर्थात घण्टाकर्ण चतुर्दशी पर्व धूमधामका साथ मनाउँदैछन्। विशेषगरी भूतप्रेत पन्छाउने र घर–परिवारको शान्तिका लागि मनाइने यो पर्वसँगै नेवार समुदायको चाडपर्वको सुरुआत हुने विश्वास गरिन्छ।
यस दिन घर सफा गरिन्छ, जल छर्केर चोखो बनाइन्छ, र विशेष विधिबाट बौ वाय् ज्या अर्थात् भूत मन्छाउने पूजा गरिन्छ। काँचो माटोको भाँडोमा चिउराको धुलो, जाँडको कट, लसुन, रगत, कालो भटमास आदि राखी ढोकामा वा चोकमा लगेर राखिन्छ। साँझपख छ्वाली बालेर भूत प्रतीक राक्षसको पुत्ला जलाउने चलन पनि छ।
यस पर्वमा बच्चा भूतदेखि नडराउन् भनेर खुट्टामा फलामको कली लगाइदिने, महिलाले फलामको औँठी लगाउने र पञ्चरङ्गी ध्वजासहित मयुरको प्वाँख घरमा राख्ने परम्परा छ।
भक्तपुर लगायत उपत्यकाका विभिन्न मन्दिर र शक्तिपीठहरूमा दर्शनार्थीको घुइँचो लाग्दछ। साथै, नवदुर्गा जात्राको मुखुण्डो बनाउने कार्यको पनि आजैदेखि शुभारम्भ हुन्छ।
घण्टाकर्ण चतुर्दशीलाई अति प्राचीन पर्वका रूपमा लिँदै नेवार समुदायले गाईजात्राका विभिन्न नाच, नाटक र बाजागाजाको तालिम पनि आजदेखि सुरु गर्ने परम्परा राखेको छ।
यस पर्वले नकारात्मकता हटाई समाजमा शान्ति र सौहार्द ल्याउने सांस्कृतिक सन्देश दिएको संस्कृतिविद् प्रा। डा। पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए।