रसुवा – रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ स्थित प्रसिद्ध धार्मिक स्थल गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका दुई तीर्थालु मृत अवस्थामा फेला परेका छन्।
जिल्ला प्रहरी कार्यालय, रसुवाका प्रमुख हेमबहादुर शाहीका अनुसार, मृतकहरूमा मोरङ, विराटनगरका करिब २८ वर्षीय सुजन ढकाल र मोरङ, बेलवारीका मनोज न्यौपाने रहेका छन्।
उनीहरू साउन ११ गते शनिबार गोसाइँकुण्डमा स्नान गर्ने क्रममा डुबेर बेपत्ता भएका थिए। घटनापछि खोज तथा उद्धारका लागि नेपाली सेना, श्रीनाथ गणबाट खटिएको टोलीले स्थानीय स्रोत र साधनको प्रयोग गरी उनीहरूको शव कुण्डबाट निकालिएको हो।
नेपाली सेनाले शवहरू नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको जानकारी दिएको छ। प्रारम्भिक अनुमानअनुसार, तीर्थालुहरू कुण्डको गहिरो स्थानमा पसेका कारण डुबेको हुनसक्ने बताइएको छ।