काठमाडौं । गृह मन्त्रालयको निर्देशनमा प्रहरी प्रधान कार्यालयले प्रहरी कर्मचारी सरुवाको नयाँ मापदण्ड बनाएको छ । प्रधान कार्यालयले इन्सपेक्टरदेखि एसपीसम्मको सरुवाका लागि नयाँ मापदण्ड बनाएको हो ।

प्रहरी प्रधान कार्यालयका अनुसार गृह मन्त्रालयले सरुवासम्बन्धी मापदण्ड २०८० स्वीकृतसमेत गरिसकेको छ । नयाँ मापदण्ड बन्दै गरेकाले साउनको सुरुवातमै हुनुपर्ने प्रहरी कर्मचारीको सरुवा समेत अहिलेसम्म हुन सकेको थिएन् । जसका कारण अहिले इन्स्पेक्टरदेखि एसपीसम्मका सरुवा रोकिएका छन् भने भर्खरै सरुवा भएर इन्चार्ज भएका इन्स्पेक्टरहरु समेत फिर्ता हुनुपर्ने अवस्था छ ।

OM Sai Pathibhara Hospital

अब सरुवाको नयाँ मापदण्ड स्वीकृत भएसँगै प्रहरी कर्मचारीहरुको पनि विभिन्न तहका सरुवाअघि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । प्रधान कार्यालयका अनुसार नयाँ मापदण्डअनुसार प्रहरी कार्यालयलाई क, ख र ग गरी तीन श्रेणीमा विभाजन गरिएको छ । यसअघि क र ख गरी दुईवटा श्रेणी मात्र भएकाले सरुवामा समस्या भएपछि मापदण्ड संशोधन गरिएको बताइएको छ ।

मापदण्डमा क श्रेणीको कार्यालयबाट फेरि कमै सरुवा नगर्ने, कार्यालय प्रमुख रहेको व्यक्तिलाई लगत्तै अर्को कार्यालय प्रमुखमा नखटाउने तथा बढुवालगत्तै कार्यालय प्रमुखमा नखटाउने प्रावधान छन् ।

एकै पटक ‘क’ श्रेणीको कार्यालयको इन्चार्ज बनाउँदा काममा बोझ आउने, एकै पटक ठूलो जिम्मेवारी पाउँदा कार्यसम्पादनमा असर पर्न सक्ने भएकाले सुरुमा ‘ख’ श्रेणीको कार्यालयको इन्चार्ज बनाउन लागिएको प्रहरी प्रधान कार्यालयको भनाई छ ।