काठमाडौं / वितरणयोग्य मुनाफामा आएको उल्लेख्य गिरावटसँगै कृषि विकास बैंक लिमिटेडको लाभांश वितरण क्षमतामा दबाब परेको छ।
आर्थिक वर्ष २०८२ र ८३ को चौथो त्रैमाससम्म बैंकको वितरणयोग्य मुनाफा घट्दा लाभांश क्षमता १७ दशमलव ९८ प्रतिशतबाट झरेर ६ दशमलव ५४ प्रतिशतमा सीमित भएको हो। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म वितरणयोग्य मुनाफा २ अर्ब ८१ करोड रुपैयाँबाट घटेर १ अर्ब २६ करोड रुपैयाँमा सीमित भएको छ। यसले आगामी लाभांश वितरण क्षमतामा प्रत्यक्ष असर परेको देखिएको छ।
समीक्षा अवधिमा बैंकको खुद नाफा पनि २९ दशमलव ५२ प्रतिशतले घटेर २ अर्ब ६३ करोड रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ७३ करोड रुपैयाँ खुद नाफा कमाएको थियो। खुद ब्याज आम्दानी ३ दशमलव ४५ प्रतिशतले घटेर ९ अर्ब १२ करोड रुपैयाँमा सीमित हुनु तथा सम्भावित कर्जा जोखिम व्यवस्थापनका लागि इम्पेयरमेन्ट चार्ज बढ्नु नाफा घट्नुका प्रमुख कारण रहेका छन्। समीक्षा अवधिमा बैंकले १ अर्ब १७ करोड ९० लाख रुपैयाँ इम्पेयरमेन्ट चार्ज छुट्टाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६३ करोड रुपैयाँको तुलनामा उल्लेख्य बढी हो।
यद्यपि बैंकको व्यवसाय विस्तार भने सकारात्मक देखिएको छ। कुल निक्षेप २ खर्ब ९३ अर्ब रुपैयाँबाट बढेर ३ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह २ खर्ब १२ अर्ब रुपैयाँबाट बढेर २ खर्ब ४७ अर्ब रुपैयाँ पुगेको छ। तर, खराब कर्जा अनुपात एनपीएल ३ दशमलव ४४ प्रतिशतबाट बढेर ४ दशमलव ०७ प्रतिशत पुगेको छ। यसका कारण बैंकले कर्जा नोक्सानी व्यवस्थापनका लागि थप प्रबन्ध गर्नुपरेको जनाएको छ।
समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी ईपीएस १६ दशमलव ११ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ८९३ दशमलव ६१ रुपैयाँ तथा तरलता अनुपात ३७ दशमलव ४५ प्रतिशत कायम रहेको बैंकले जनाएको छ।






































