काठमाडौं / नेपाली बजारमा एमजीको नयाँ एसयूभी एस्टर भित्रिएको छ । नेपालका लागि आधिकारिक वितरक पारामाउन्ट मोटर्सले सो गाडी नेपाली बजारमा उपलब्ध गराएको हो । केही समय पहिले देखि नै बुकिङ खुल्ला गरिएको सो एसयूभीको मूल्य ४८ लाख ४९ हजार रुपैयाँ तोकिएको छ ।

आधुनिक डिजाइनमा तयार पारिएको एस्टर हाई–टेक फिचरका कारण लोकप्रिय छ । यो एसयूभीमा एमजीले आर्टिफिसियल इन्टेलिजेन्स र स्मार्ट कनेक्टिभिटी फिचर दिएको छ । १.५ लिटर पेट्रोल इन्जिन जडित एस्टको पावर १०८ पीएस पावर र १४४ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीड म्यानुअल र सीभीटी ट्रान्समिसनको विकल्प पाउन सकिन्छ । एस्टरलाई १६५ किलोमिटर प्रतिघन्टाको उच्च गतीमा हाँक्न सकिने कम्पनीको दावी छ । साथै यसको ग्राउन्ड क्लियरेन्स २०५ एमएम रहेको छ ।

OM Sai Pathibhara Hospital

एमजी एस्टरको लम्बाई ४३२३ एमएम, चौडाई १८०९ एमएम, उचाई १६५० एमएम, २५८५ एमएम ह्वीलवेस र २०५ एमएम ग्राउन्ड क्लियरेन्स रहेको छ । यसमा ४७५ लिटर क्षमताको बुट स्पेश र ४५ लिटरको इन्धन ट्याङ्की रहेको छ । एस्टरमा १७ इन्चको डायमन्ड कट अलोय ह्विल्स दिइएको छ जसले यो एसयुभीलाई निकै आकर्षक र स्पोर्टी देखाएको छ । सो कारले १८-२० किलोमिटर प्रतिलिटरको माइलेज दिन सक्ने क्षमता रहेको कम्पनीको भनाइ छ । यसको वजन भने १२४५ केजी रहेको छ । सो कार ५ सिट क्षमतामा उपलब्ध रहेको छ ।

यसमा एलइडी डीआरएल सहितको एलईडी हेडल्याम्प, एलईडी टेलल्याम्प, निकै नै आकर्षक छ । यसमा मल्टिफङसन स्टेयरिङ ह्विल, १०.१ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, एन्ड्रोइड अटो र एप्पल कारप्ले, चारवटा स्पिकर, रियर पार्किङ क्यामरा, अटोमेटिक क्लाइमेट कन्ट्रोल, डिजिटल ओडोमिटर, ड्युअल टोन ड्यासबोर्ड, १७ इन्चको अलोय ह्विल, एलर्इडी हेडल्याम्प जस्ता फिचर छन् ।

क्र्यास टेष्टमा ५ स्टार रेटिङ पाएको एस्टर सुरक्षाको मामलामा समेत निकै मजवुत रहेको छ । सेफ्टि फिचर अन्तर्गत यसमा ६ वटा एयरव्याग, एबीएस, ईबीडी, ब्रेक असिस्ट, हिल कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल, १४ प्रकारका अटोनोमस फिचर सामेल अटोनोमस ड्राइभिङ लेभल २ र ३६० डिग्री क्यामेरा दिइएको छ । एस्टरको प्रतिस्पर्धी मोडलका रुपमा हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन टाइगुन र स्कोडा कुशाक रहेका छन् ।