कोशी  । विराटनगरको तुलसी बहुमुखी सहकारी संस्था २५ दिनदेखि बन्द हुँदा सर्बसाधारणको डेढ अर्ब रुपैयाँ जोखिममा परेको छ । सर्वसाधारणको बचत फिर्ता गर्न नसकेपछि सहकारीको कार्यालय  बन्द छ ।


OM Sai Pathibhara Hospital

उपाध्यक्ष अनिता गौतम र सचिव सविना न्यौपाने प्रहरी नियन्त्रणमा छन् । उनीहरुमाथि प्रहरीले अभद्र व्यवहार आरोपमा अनुसन्धान गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्कीका अनुसार दुई जना पक्राउ परेपनि अध्यक्ष केदारनाथ शर्मा फरार छन् ।


सहकारीबाट एक करोड भन्दा बढी रकम बचत फिर्ता नपाएको भन्दै केही उजुरी परेको छ ।  

प्रहरीका अनुसार २०७१ सालमा खुलेको सहकारीले झापाको दमक र उदयपुरको गाइघाटमा शाखा कार्यालय खोलेको छ । विराटनगर, दमक र उदयपुरमा गरी १० हजार बढी सर्वसाधारणले एक अर्ब ४९ करोड रुपैयाँ हाराहारी बचत गरेका छन् । 


सचिव न्यौपाने क्यानडा जाने तयारी गरेपछि सर्वसाधारणले बचत फिर्ता माग्दै कार्यालय घेराउ गरेका थिए । त्यही बेला प्रहरीले उपाध्यक्ष गौतम र सचिव न्यौपानेलाई पक्राउ गरेको हो ।

सहकारीले न्यूनतम १५ प्रतिशत ब्याज दिने भन्दै बचत संकलन गरेको थियो ।  


सहकारीका पूर्व कर्मचारीका अनुसार सर्वसाधारणबाट बचत फिर्ता नपाउनुको कारण सहकारीको कानुन विपरीत सदस्य बाहिर गरेको लगानी हो । ती कर्मचारीका अनुसार सहकारीले कृषि व्यवसाय, राइस मिल, घडेरी खरिदलगायतका क्षेत्रमा सर्वसाधारणको बचत प्रयोग गरेको छ ।


अध्यक्ष र सचिवले सहकारीबाट निजी व्यवसायमा पनि खर्च गरेका कारण बचत जोखिममा रहेको ती कर्मचारीको दाबी छ।