काठमाडौं । बहुप्रतीक्षित कालीगण्डकी लोकमार्गअन्तर्गत पर्वतको मोदीबेनी–फलेवास सडकखण्ड निर्माणले नयाँ गति लिने भएको छ । लामो समयदेखि अलपत्र बनेको सडक निर्माणलाई अघि बढाउने विषयमा सिंहदरबारमा सरकारी अधिकारी र निर्माण कम्पनीबीच भएको छलफल सकारात्मक निष्कर्षमा पुगेको हो ।
लोकमार्गअन्तर्गतको सडकखण्ड अब मोदीबेनीबाटै निर्माण सुरु हुने भएको हो । संघीय सांसद सागर भुषालका अनुसार सिंहदरबारमा भएको छलफलमा नव कान्तिपुर निर्माण सेवाका सञ्चालक तथा प्रतिनिधि र कालीगण्डकी लोकमार्ग आयोजनाका सरकारी अधिकारी सहभागी भएका थिए। छलफलपछि मोदीबेनीतर्फबाटै निर्माण कार्य तत्काल सुरु गर्ने सहमति भएको उनले जानकारी दिएका छन्।
यो सडकखण्ड पर्वतका फलेवास नगरपालिका, कुश्मा क्षेत्र तथा बागलुङसँगको आवतजावतका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। निर्माणमा भएको ढिलाइका कारण स्थानीय बासिन्दा, व्यवसायी, विद्यार्थी र दैनिक यात्रु वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।
बैठकमा निर्माण कार्यलाई थप ढिलाइ नगरी उपकरण, जनशक्ति र आवश्यक व्यवस्थापन तत्काल परिचालन गर्ने विषयमा पनि छलफल भएको बताइएको छ। निर्माणको प्रगति नियमित रूपमा अनुगमन गर्ने र समन्वयलाई प्रभावकारी बनाउने विषयमा समेत सहमति भएको सांसद भुषालले उल्लेख गरेका छन्।
मोदीबेनी–फलेवास सडक कालीगण्डकी लोकमार्गको महत्वपूर्ण खण्ड भएकाले यसको निर्माण सम्पन्न भए पर्वत र बागलुङबीचको सडक पहुँच थप सहज हुने, पर्यटन, कृषि उत्पादन ढुवानी तथा स्थानीय व्यापारमा सकारात्मक प्रभाव पर्ने जिल्लावासीले अपेक्षा गरेका छन् ।
यद्यपि निर्माण सुरु हुने सहमति भएको जानकारी सार्वजनिक भए पनि काम सुरु हुने मिति, ठेक्काको अवधि वा लागतसम्बन्धी विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन ।






































