पर्वत। पर्वतको कुश्मा नगरपालिका–६ स्थित बसपार्कमा सबै प्रकारका सार्वजनिक सवारीसाधन अनिवार्य रूपमा प्रवेश गर्नुपर्ने तथा यात्रु चढाउने–ओराल्ने कार्य बसपार्कबाटै गर्नुपर्ने व्यवस्थाको विरोधमा यातायात व्यवसायी र चालक आन्दोलनमा उत्रिएका छन्।

कुश्मा नगरपालिकाले बसपार्क व्यवस्थापनलाई प्रभावकारी बनाउन लागू गरेको नयाँ व्यवस्थाप्रति असन्तुष्टि जनाउँदै व्यवसायीहरूले शुक्रबार विरोध प्रदर्शन गरेका हुन्। उनीहरूले उक्त निर्णयले सञ्चालन खर्च बढ्ने, समय व्यवस्थापनमा समस्या आउने तथा यात्रु सेवामा समेत असर पर्ने दाबी गरेका छन्।

आन्दोलनरत व्यवसायीहरूले बसपार्क प्रवेश अनिवार्य गर्ने निर्णय तत्काल पुनर्विचार गर्न माग गर्दै सम्बन्धित निकायसँग वार्ताको वातावरण बनाउन आग्रह गरेका छन्। माग सम्बोधन नभए थप सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गर्ने चेतावनीसमेत दिएका छन्।

यता, नगरपालिकाले भने सार्वजनिक यातायातलाई व्यवस्थित, सुरक्षित र यात्रुमैत्री बनाउन बसपार्कबाटै सवारी सञ्चालन आवश्यक रहेको जनाएको छ। मुख्य बजार क्षेत्रमा हुने अव्यवस्थित पार्किङ, सडक जाम तथा जथाभावी यात्रु चढाउने–ओराल्ने प्रवृत्ति नियन्त्रण गर्न नयाँ व्यवस्था लागू गरिएको नगरपालिकाको भनाइ छ।

व्यवसायी र नगरपालिकाबीच सहमति नजुटे बसपार्क सञ्चालनको विषय थप पेचिलो बन्ने देखिएको छ। स्थानीय प्रशासनले दुवै पक्षसँग संवादमार्फत समाधान खोज्ने प्रयास भइरहेको जनाएको छ।