काठमाडौं / नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारको संविधानप्रतिको बुझाइ र पछिल्लो कार्यशैलीले मुलुकलाई द्वन्द्वतर्फ धकेल्न सक्ने भन्दै सचेत गराएका छन्।

उनले संविधानको मर्म र लोकतान्त्रिक मूल्यअनुसार शासन सञ्चालन गर्न सरकार जिम्मेवार बन्नुपर्ने बताएका छन्। शुक्रबार पार्टीनिकट नेपाल आदिवासी जनजाति महासंघको भेलालाई सम्बोधन गर्दै थापाले सरकारका पछिल्ला गतिविधिप्रति असन्तुष्टि जनाउँदै संविधानलाई आफूअनुकूल प्रयोग गर्ने प्रवृत्ति देखिए त्यसले गम्भीर समस्या निम्त्याउन सक्ने बताए। उनले सरकारको कार्यशैलीप्रति प्रश्न उठाउँदै प्रधानमन्त्रीदेखि मन्त्री तथा सत्तापक्षका सांसदसम्मबाट आउने अभिव्यक्ति र गतिविधिले शासन व्यवस्थाप्रति गलत सन्देश गएको बताए।

बहुमतको आधारमा राज्य सञ्चालन गर्दा जिम्मेवारी र संयम गुमाउन नहुने उनको भनाइ थियो। थापाले सरकारको शासकीय शैलीमाथि निगरानी राख्दै लोकतान्त्रिक मूल्य र संविधानको रक्षा गर्न कांग्रेसले प्रभावकारी भूमिका खेल्नुपर्ने बताए। उनले राज्यका निकायबीचको समन्वय र संस्थागत मर्यादा कायम राख्नुपर्नेमा जोड दिए। संविधान कार्यान्वयनका विषयलाई हल्का रूपमा नलिन आग्रह गर्दै उनले देशलाई कुनै पनि अवस्थामा द्वन्द्वमा जान दिन नहुने बताए।

संविधान र लोकतान्त्रिक व्यवस्थामाथि आउने चुनौतीको सामना राजनीतिक दलहरूले जिम्मेवारीपूर्वक गर्नुपर्ने उनको भनाइ छ। यसैबीच, थापाले आफ्नो नेतृत्वमा सम्पन्न नेपाली कांग्रेसको विशेष महाधिवेशन विधानसम्मत रहेको दाबी गरेका छन्। पार्टी विधानअनुसार सदस्यहरूले आफ्नो अधिकार प्रयोग गरेर विशेष महाधिवेशन गरेको भन्दै उनले यसको वैधानिकता पुष्टि गर्न आफूहरू अदालतको प्रक्रियामा सहभागी हुन तयार रहेको बताए।

उनले निर्वाचन आयोग र सर्वोच्च अदालतको इजलासबाट समेत विशेष महाधिवेशनको विषयमा पुष्टि भइसकेको दाबी गर्दै अदालतमा आफ्नो पक्षको प्रतिरक्षा गर्ने बताए।