काठमाडौं / नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले पार्टीको नेतृत्व प्रणाली परिवर्तन गर्दै अध्यक्षमण्डल प्रणाली लागू गर्ने निर्णय गरेको छ।
पोखरामा बसेको केन्द्रीय समितिको छैटौं पूर्ण बैठकले नेतृत्व संरचनामा परिवर्तन गर्ने निर्णय गरेको हो। महासचिव कञ्चनको अध्यक्षतामा साउन १४ देखि १६ गतेसम्म बसेको बैठकका निर्णय शुक्रबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो। बैठकले पार्टीको विचार, राजनीति र संगठनलाई नयाँ ढंगले विकास गर्ने निर्णयसमेत गरेको जनाएको छ।
पार्टीले विभिन्न क्रान्तिकारी पार्टी, संगठन तथा व्यक्तिहरूसँग एकता, ध्रुवीकरण तथा कार्यनीतिक र रणनीतिक मोर्चामा सहकार्य गर्ने नीति अघि सारेको छ। त्यसका लागि आगामी दिनमा विभिन्न राजनीतिक शक्तिसँग सहकार्य र समन्वय बढाउने निर्णय गरिएको जनाएको छ।
बैठकले साउन २९ गतेदेखि भदौ २६ गतेसम्म ब्युरो समितिका बैठक तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ। प्रशिक्षणमार्फत पार्टीको संगठनात्मक गतिविधि तथा राजनीतिक कार्यक्रमलाई थप व्यवस्थित बनाउने जनाएको छ। यसैगरी बैठकले वर्तमान सरकारका नीतिप्रति असन्तुष्टि जनाउँदै सुकुम्बासी, किसान, मजदुर, वित्तीय शोषणपीडित तथा युवा–विद्यार्थीका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिक संघर्ष गर्ने निर्णय गरेको छ।
पार्टीले सुशासन र राष्ट्रिय स्वाधीनताको विषयलाई समेत आफ्नो राजनीतिक अभियानको प्रमुख मुद्दा बनाउने जनाएको छ। बैठकले वर्तमान विश्व व्यवस्थाबारे समेत धारणा सार्वजनिक गर्दै आफ्नो वैचारिक प्रतिबद्धता दोहोर्याएको छ। यसैबीच, तयारी नपुगेको भन्दै साउनमा गर्ने भनिएको पार्टीको राष्ट्रिय सम्मेलन स्थगित गरिएको छ।
अब राष्ट्रिय सम्मेलन आगामी असोज ५ देखि १० गतेसम्म आयोजना गर्ने निर्णय भएको नेकपा (बहुमत)ले जनाएको छ।






































