निर्मल पौडेल,पर्वत । अविरल वर्षापछि आएको बाढी र पहिरोले पर्वतको फलेवास नगरपालिका–११ पाङराङ का विभिन्न बस्तीमा ठूलो भौतिक क्षति पु-याएको छ। श्रावण २० र २१ गते परेको लगातार वर्षाका कारण खोरियाखर्क, श्रीकाङ, कर्नास, अम्डी, लौकेलगायत क्षेत्रमा पहिरो जाँदा धार्मिक सम्पदा, निजी घर, कृषि बगैँचा, सडक तथा विद्युत् पूर्वाधारमा व्यापक क्षति पुगेको हो।

स्थानीय तथा शिक्षक नेत्र बरालका अनुसार हालसम्म प्राप्त जानकारीअनुसार कर्नासस्थित नारायणस्थान मन्दिर, देवीस्थान तथा ट्रस्ट भवन पूर्ण रूपमा क्षतिग्रस्त भएका छन्। सोही स्थानमा भोला श्रेष्ठको घर जगदेखि माथिसम्म चर्किएर बस्नै नमिल्ने अवस्थामा पुगेको छ।

श्रीकाङ (खोरियाखर्क) क्षेत्रमा गएको पहिरोले झण्डै २०० वटा सुन्तला तथा अन्य फलफूलका रुख बगाएको छ भने एक स्थानीयको शौचालयसमेत पहिरोले बगाएको छ। पहिरोकै कारण श्रीकाङदेखि पाङराङ वडा कार्यालय जोड्ने कालोपत्रे सडक क्षतिग्रस्त भएको छ। यस्तै मोदी र सात्लेको सिमानामा पर्ने दानुवा खोलामा आएको पहिरोले सडक पूर्ण रूपमा अवरुद्ध बनाएको छ।

अम्डी (गैह्राबारी) क्षेत्रमा पहिरो जाँदा विद्युत्का पोलहरू ढलेका छन् भने लौकेस्थित कोरिडोर सडकमा रुख ढलेर यातायात अवरुद्ध भएको थियो। वडा कार्यालयका अनुसार उक्त सडक अहिले सञ्चालनमा आएको छ। यस प्राकृतिक विपत्तिबाट मानवीय क्षति भने नभएको स्थानीयले बताएका छन्। यद्यपि गाउँभरका धार्मिक, भौतिक तथा कृषि पूर्वाधारमा ठूलो क्षति पुगेकाले स्थानीयवासी चिन्तित बनेका छन्।

यस घटनापछि स्थानीय समाजसेवी, जनप्रतिनिधि, विभिन्न संघ–संस्था, क्लब, राजनीतिक दल तथा स्वयंसेवीहरूलाई उद्धार, राहत र पुनःस्थापनामा सक्रिय हुन स्थानीयवासीले आग्रह गरेका छन्। शिक्षक नेत्र बरालले सामाजिक सञ्जालमार्फत अहिलेको प्राथमिकता राजनीतिक समीक्षा वा औपचारिक बैठकभन्दा प्रभावित नागरिकको उद्धार र राहत हुनुपर्ने उल्लेख गर्दै सबै पक्षलाई विपद्को घडीमा एकताबद्ध भएर सहयोग गर्न अपिल गरेका छन्।