काठमाडौं / प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले वैशाखदेखि असारसम्म तीन महिनाको अवधिमा २१ वटा मन्त्रिपरिषद् बैठक सम्पन्न गरी ३८४ वटा निर्णय गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सूचनाको हकसम्बन्धी ऐन तथा नियमावलीअनुसार चौमासिक प्रगति विवरण सार्वजनिक गर्दै उक्त जानकारी दिएको हो। चौमासिक प्रतिवेदन भनिए पनि सार्वजनिक विवरणमा वैशाख, जेठ र असार गरी तीन महिनामा भएका काम समेटिएका छन्। प्रतिवेदनअनुसार उक्त अवधिमा मन्त्रिपरिषद्का विभिन्न समितिका आठ वटा बैठक सम्पन्न भएका छन्। ती बैठकबाट १२ वटा निर्णय भएको उल्लेख छ।
सरकारले यस अवधिमा नेपाल सरकार कार्यविभाजन नियमावली, २०८३ तर्जुमा गरी कार्यान्वयनमा ल्याएको जनाएको छ। साथै सरकारी निकायमा बाँकी रहेका फाइललाई टुंग्याउने उद्देश्यले ‘शून्य बाँकी फाइल’ अभियान सञ्चालनका लागि मार्गदर्शन तयार गरी सबै मन्त्रालय, निकाय, आयोग तथा स्थानीय तहमा पठाइएको प्रतिवेदनमा उल्लेख छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अभियानअन्तर्गत सम्बन्धित निकायसँग एकीकृत प्रगति प्रतिवेदनसमेत माग गरेको जनाएको छ।
प्रतिवेदनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको स्वरूप, काम, कर्तव्य, अधिकार तथा कर्मचारीको विवरणसमेत समावेश गरिएको छ। प्रधानमन्त्री शाह १३ चैत २०८२ मा प्रधानमन्त्री बनेका थिए।






































