झापा — अफ्रिका र युरोपका २ वटा हिमाल आरोहणको तयारी गरिरहेका पाँचथरका सुशील सेर्मालाई कोरियामा रहेका नेपालीले आर्थिक सहयोग गरेका छन् । किरात याक्थुङ पापोहाङ सेर्मा सङजम्भो प्रवाश दक्षिण कोरियामार्फत संकलित १ लाख ३ हजार रुपैयाँ उनलाई उपलब्ध गराइएको छ । पाँचथरको कुम्मायक–२ निवासी सुशीललाई उक्त संस्थाका अध्यक्ष नरेन्द्र सेर्माले आइतबार फिदिममा आयोजित पत्रकार सम्मेलनमा रकम हस्तान्तरण गरे ।
यसअघि विश्वको सर्वोच्च शिखर सगरमाथा, आइसल्यान पिक र लाङटाङ हिमाल आरोहण गरेका सुशील तान्जानियास्थित ५ हजार ८ सय ९५ मिटर उचाइको किल्ली मन्जारो र रसियाको माउन्ट एल्बुस नामक हिमाल आरोहणको तयारी गरिरहेका छन् । दुई वटै हिमाल आरोहणका लागि प्रक्रिया सुरु भइसकेको छ । आगामी अप्रिलमा एउटाको आरोहण गर्ने उनको तालिका छ । ‘यद्यपि २ मध्ये कुन पहिले आरोहण गर्ने भन्ने ट्रेकिङ कम्पनीले पूरा गर्ने प्रक्रिया पछि मात्रै टुंगो लाग्छ,’ सेर्माले भने । दुवै हिमाल आरोहण गर्न ५ लाख रुपैयाँका दरले खर्च लाग्ने उनले बताएका छन् ।
उनी २०१७ मे २० मा सगरमाथाको चुचुरोमा पुगेका थिए । उनी त्यसअघि २०६८ को असोज ६ मा आइसल्यान्ड पिकको आरोहण गरेका थिए । यीबाहेक उनीसँग लाङटाङ हिमाल आरोहण तथा नेपालको सबैभन्दा होचो भूभाग झापाको केचनाकवलदेखि विश्वको तेस्रो हिमाल कञ्चनजंघा आधार शिविरसम्म पैदल यात्रा गरेको अनुभव छ ।विश्व शान्ति, मानव एकता र आणविक शस्त्रअस्त्र निःशस्त्रीकरणको सन्देश लिएर ७ महादेशका प्रमुख ७ वटा हिमाल आरोहणको योजना बनाएको उनको भनाइ छ ।