झापा : स्थलमार्गबाट समस्या देखिएपछि हुम्लास्थित साल्ट ट्रेडिङ कर्पोरेसनले हेलिकप्टरबाट नुन ढुवानी थालेको छ। सर्केगार्ड गाउँपालिका–४ को दुल्ली कुनाबाट नुन हेलिकोप्टरमा ढुवानी सुरु भएको कर्पोरेसन सिमकोट शाखाका प्रमुख राजबहादुर लामाले बताए। कैलाश एयरको हेलिकप्टरबाट अनुदानको नुन ओसार्ने काम भइरहेको छ। नुन सुर्खेतबाट पैदल मार्गबाट सलीसल्ला हुँदै दुुल्लीकुनासम्म गाडीमा ढुवानी भएपछि हेलिकप्टरको माध्यमबाट ढुवानी सुरु भएको हो।

हेलिकप्टरले दैनिक २० भन्दा बढी उडान भरेर नुन ढुवानी गर्ने कार्य गरिरहेको छ। बढी परिमाणमा ढुवानी गर्नका लागि हेलिकप्टरमा झुण्ड्याएर ओसार्ने कार्य गर्दै आएको छ। हेलिकप्टरभित्र राख्नभन्दा झुण्ड्याएर ल्याउँदा ५० केजी बढी ढुवानी हुने गरेको छ।

OM Sai Pathibhara Hospital

चालुु आर्थिक वर्षको दुुई हजार २०० क्विन्टल नुन फागुन महिनामा आएर हेलिकोप्टरबाट ढुवानी सुुरु छ। खार्पुनाथ गाउँपालिकाका पाँच वटा वडामै हेलिकप्टरबाटै ढुवानी गरिएको छ। प्रत्येक वडामा १५० क्वीन्टल नुन हेलिकोप्टरबाट पुर्‍याएको उनले बताए।

यसअघि सिमकोटस्थित शाखाको गोदामबाट नुन खरिद गर्नुपर्ने बाध्यताबाट खार्पुनाथका स्थानीय छुटकारा पाएका छन्। गाउँपालिकाका लागि साढे ७०० क्विन्टल नुन ओसारिएको छ भने सिमकोटस्थित शाखाका लागि हेलिकप्टरले ढुवानी गरिरहेको छ।

हुम्लामा आयोडिनयुक्त नुन प्रतिकेजी नौ रुपैयाँमा बिक्री हुने गरेको छ।