ताप्लेजुङ - ताप्लेजुङमा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको छ । फक्ताङलुङ गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जना मोति बिन्दुका बिरामीको शल्यक्रिया गरिएको हो । यहि फागुन ८ गतेदेखि यस गाउँपालिकाका विभिन्न ठाउँमा भएको आँखा जाँच तथा सामान्य उपचारका क्रममा भेटिएका मोतिया बिन्दुका बिरामीको शनिबार र आइतबार शल्यक्रिया गरिएको थियो ।
गाउँपालिकाको केन्द्र तापेथोकमा शल्यक्रिया गर्ने व्यवस्थापन गरेर मोतियाबिन्दुको समस्यामा परेकाको उपचार भएको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिनुभयो । तिलगंगा आँखा प्रतिष्ठान काठमाडौं र फक्ताङलुङ गाउँपालिकाले आयोजना गरेको शिविरमा मोति बिन्दुको समस्या देखिएका बिरामीको निःशुल्क शल्यक्रिया गरिएको हो ।
प्रख्यात नेत्ररोग विशेषज्ञ डाक्टर सन्दुक रुइतसहित स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको हो । डाक्टर रुइत आफू जन्मिएको गाउँमा आएर उपचारमा संलग्न भए । शिविरमा २ हजार ४ सय ३० जना आँखाका बिरामीको जाँच तथा उपचार गरिएको थियो । बिरामीलाई शल्यक्रिया गर्ने स्थानसम्म आउन सवारी साधन र खान बस्नेको व्यवस्था गाउँपालिकाले गरेको गाउँपालिका प्रमुख मुक्ति लाबुङले जानकारी दिए ।
जटिल समस्या देखिएका ४ जना बिरामीलाई भने तिलगंगा आँखा अस्पतालमा उपचारका लागि सिफारिस गरिएको छ । दुर्गम ठाउँमा शिविर सञ्चालन हुँदा सेवा पाएका स्थानीय भने खुशी भएका छन् ।