झापा - इलामको रोङ गाँउपालिकामा रहेकाे बैनी पाथिभरा मन्दिरमा भक्तजनले चढाएको दान दक्षिणामा अनियमितता भएको आरोप लागेको छ ।
पाथिभरा संरक्षण संस्थाबाट आर्थिक हिनामिना भएको भन्दै स्थानीय वासीन्दाले हिसाब सार्वजनिक गर्न माग गरेका हुन् । रोङ गाउँपालिकाले तयार पारेको पाथिभरा क्षेत्र विकास कोष परिचालन तथा व्यवस्थापन कार्यविधि २०७५ मा हरेक ४ महिनामा मन्दिरको कार्यक्रम, बजेट र आम्दानी समिक्षा गर्नु पर्ने नियम भए पनि त्यस अनुसार काम नभएको गुनासो गरिएको छ । मन्दिर संरक्षण संस्थाले २०७५ साल यता साधारण सभा समेत गरेको छैन । आर्थिक वर्ष २०७६/०७७ को लेखा परिक्षणमा मन्दिरको आम्दानी ५१ लाख रुपैयाँ रहेको उल्लेख छ । २०७७/०७८ मा २० लाख रुपैयाँ मात्र आम्दानी देखाइएको छ ।
मन्दिरको आम्दानी हिनामिना गरेको भन्दै पाथिभरा संरक्षण संस्थाका पदाधिकारीविरुद्ध अख्तियार र जिल्ला प्रशासन कार्यालय इलाममा उजुरी समेत परेको छ ।