पर्वत - फलेवास नगरपालिकामा रहेको फलेवास रंगशालालाई पोखरा रंगशालापछिको दोस्रो बनाउने अभियानमा स्थानीयवासी छन्।

गण्डकी प्रदेशमा राजधानी पोखरामा रहेको रंगशालाको विकल्पको रूपमा विकासको क्रममा रहेको रंगशालाको बिच भागमा कालीगण्डकी प्रसारण कोरिडोरको ‘हाइटेन्सन टावर’ परेको छ।

OM Sai Pathibhara Hospital

फलेवासवासीले वेलावेलामा टावर हटाउन माग गर्दै आन्दोलन र दबाब दिँदै आएका छन्। समस्या समाधानको लागि फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारी, प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल लगायतको टोलीले नेपाल विद्युत् प्राधिकरणमा पुगेर कार्यकारी निर्देशक कुलमान घिसिङसँग भेटेर छलफल गरे पनि समस्या भने टर्न सकेन।टावरलाई छेउतर्फबाट लैजाने कुरा भए पनि अन्योल छ।

समस्या समाधान नभई नागरिक र जनप्रतिनिधिहरूबाट समेत निरन्तर दबाब आएपछि प्राधिकरणका कार्यकारी निर्देशक  घिसिङ आइतबार रंगशाला पुगेर वस्तुस्थितिको अवलोकन गरेका छन्। दिउँसो जिल्ला प्रशासन कार्यालयमा राखिएको सर्वदलीय छलफलमा भाग लिएपछि फलेवास पुगेर स्थानीयवासी र सरोकारवालासँग उनले छलफल गरेका हुन्।

नगरकै गौरवका रूपमा निर्माणाधीन रंगशाला जोगाएर प्रसारण लाइन लैजान यसअघि नै भएको सहमति अनुसार काम गर्न आयोजनाको भारतीय ठेकेदार पक्षले आनाकानी गरेपछि घिसिङ रंगशालामै पुगेर ठेकेदार कम्पनी, आयोजना प्रमुख तथा सरोकारवालासँग छलफल गरेका हुन्। यसअघि नगरप्रमुख गंगाधर तिवारी लगायतको टोली प्राधिकरणको केन्द्रीय कार्यालयमै पुगेर गरेको आग्रह बमोजिम रंगशाला र स्थानीय विद्यालय, बस्ती लगायत पूर्वाधार जोगाएर लाइन बिस्तार गर्ने सहमति भएको थियो। घिसिङले सम्बन्धित पक्षलाई दिएको निर्देशन अनुसार समयमै काम हुन नसकेपछि आइतबार दिनभर कार्यकारी निर्देशक रंगशाला तथा पर्वत प्रशासनमा सोही विषयको निकास निकाल्न व्यस्त  रहे।

दिउँसो रंगशाला पुगेका घिसिङले स्थानीयको रोहवरमा रंगशालाको डिलभन्दा तल (कालीगण्डकी किनारतर्फ) मुख्य टावरका दुई वटा पोल गाड्ने गरी सहमति समेत गराएका छन्। ‘मिल्नेसम्म डिलतिर पोल सारेर रंगशाला र विद्यालय जोगाएर टावरको फाउन्डेसन तयार गर्नुस्,’ घिसिङले आयोजना प्रमुख चन्दन घोष, भारतीय ठेकदार कम्पनी लगायतलाई निर्देशन दिँदै भने, ‘त्यसका लागि पाँच–दश करोड जतिसुकै खर्च बढोस्, प्राधिकरण व्यहोर्न तयार छ।’ घिसिङको  निर्देशनसँगै फलेवास रंगशाला जोगाएर कोरिडोरको टावर बिस्तारको काम सोमबारदेखि नै सुरु हुने भएको छ।