झापा- संखुवासभाको चीनसँग सिमाना जोडिएको किमाथांका नाका नखुल्दा संखुवासभाको भोटखोला क्षेत्रमा खाद्यान्न संकट भएको छ । कमाथांका नाका लामो समय बन्द हुँदा स्थानीयको दैनिकी कष्टकर बनेको हो । नाका खुलाउन सरकारसँग हारगुहार गरेपनि सुनुवाई नभएको भोटखोला गाउँपालिकाका अध्यक्ष वाङछेदर भोटेले बताए ।

OM Sai Pathibhara Hospital

हिमाली क्षेत्रमा केही दिन यता हिउँ परेर जनजीवन कष्टकर बनेपछि खाद्यान्न संकट झन चुलिएको छ । यस क्षेत्रमा आलु, मकै, गहुँ, जौ मात्रै उत्पादन हुने भएकाले अन्य खाद्यान्नका लागि चिनियाँ बजारमा भर पर्नुपर्ने बाध्यता छ । खाद्यान्न संकट चुलिएपछि तीनरचार दिन भरियालाई बोकाएर खाद्यान्न वितरण गर्न थालिएको गाउँपालिकाले जनाएको छ । भोटखोला गाउँपालिका–१ का वडाध्यक्ष नुर्पु च्यांबाले वडावासीलाई चामल, नुन, तेललगायतका दैनिक उपभोग्य सामाग्री वितरण गरेको जानकारी दिए ।

तत्कालको संकटका लागि गाउँपालिको तर्फबाट दुई लाख १० हजार, पर्यटन व्यवसायी जेनजेन लामाबाट तीन लाख ५५ हजार र भोटखोला–१ बाट दुई लाख रूपैयाँ गरी सात लाख ६५ हजार रूपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको हो ।