झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपतिका उम्मेदवार सुवास नेम्वाङलाई मत दिन आग्रह गर्दै नेपाली कांग्रेस बाहेक संसदमा प्रतिनिधित्व गर्ने सबै दल र स्वतन्त्र सांसदलाई पत्र लेखेका छन् ।

एमालेबाट छुट्टिएर बनेको एकीकृत समाजवादीले ओलीको पत्रबाट सम्वादको ढोका खुलेको भन्दै निरन्तर सम्वाद रहेमा सहकार्यको वातावरण बन्न सक्ने प्रतिक्रिया दिएको छ ।

OM Sai Pathibhara Hospital

फागुन २५ गते हुने राष्ट्रपति पदको निर्वाचनका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा एमालेबाट सुवास नेम्वाङले शनिबार मनोनयन दर्ता गराएका छन् । त्यसलगत्तै नेकपा एमालेले नेम्वाङलाई भोट माग्दै संसदमा प्रतिनिधित्व गर्ने दलका नेता र स्वतन्त्र सांसदहरुलाई पत्र पठाएको थियो ।

अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर भएको पत्र संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दल र स्वतन्त्र सांसद गरी १७ जनालाई पठाइएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।

उनका अनुसार कांग्रेस बाहेकका सबै दललाई औपचारिक पत्र पठाएर नेम्वाङलाई मत दिन भनिएको छ ।

एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पठाइएको पत्र सो पार्टीका नेता जगन्नाथ खतिवडाले सामाजिक सन्जालमा पोष्ट गर्दै प्रतिक्रियासमेत सार्वजनिक गरेका छन् ।

पत्र पठाएकोमा ओलीलाई धन्यवाद दिंदै खतिवडाले यसबाट सम्वादको ढोका खुलेको बताएका छन् । सम्वादको वातावरण बनिरहे भविष्यमा सहकार्यको वातावरण बन्नसक्ने उनले उल्लेख गरेका छन् ।

तर राष्ट्रपतिको निर्वाचनको सन्दर्भमा भने एमालेको आग्रह स्वीकार गर्न नसकिने खतिवडाले बताएका छन् । उनले लेखेका छन्, ‘राष्ट्रपति निर्वाचनको सन्दर्भमा समय निकै अगाडि बढिसकेको हुँदा एमालेको अनुरोधलाई स्वीकार गर्ने स्थिति नभएतापनि सकारात्मक सोचका साथ राजनीतिक सम्वादको वातावरण निरन्तर रहिरहेमा एजेन्डाअनुसार सहकार्यको वातावरण निर्माण हुनसक्दछ ।’

एकीकृत समाजवादीले एमालेको पत्रको विषयमा आफ्नो धारणा सार्वजनिक गरिसके पनि पाँच दलका नेताहरुले भने मुख खोलेका छैनन् । राप्रपा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाल मजदुर किसान पार्टी (नेमकिपा), हाम्रो नेपाली पार्टी र संघीय समाजवादी अनिर्णित छन् ।

राप्रपाको प्रतिनिधिसभामा १४ र प्रदेश सभामा २८ सांसद छन् । आठ दलीय गठबन्धनले कांग्रेसका रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाएपछि राप्रपाले सरकारलाई दिएको समर्थन फिर्ता लिंदै सरकारबाट बाहिरिसकेको छ ।

प्रतिनिधिसभामा १९ सिट रहेको रास्वपाले पनि राष्ट्रपतिमा कसलाई समर्थन गर्ने भन्ने निर्णय गरिसकेको छैन ।

राष्ट्रपतिको निर्वाचनमा के गर्ने भनेर निर्णय गर्न सोमबार केन्द्रीय समितिको बैठक बसेर निर्णय गर्ने रास्वपाका उपाध्यक्ष डोलप्रसाद अर्यालले बताए । राष्ट्रपतिका उम्मेदवार पौडेलले शनिबार रास्वपा सभापति रवि लामिछानेलाई भेटेर मत मागेका थिए ।

प्रतिनिधिसभामा एक र प्रदेश सभामा तीन सांसद रहेको नेमकिपाका नेता प्रेम सुवालले सबै परिस्थिति हेरेर निर्णय गर्ने बताए ।

निर्णय लिन बाँकी हाम्रो नेपाली पार्टीका दुई प्रदेश सभा सदस्य र संघीय समाजवादी पार्टीको एक प्रदेश सभा सदस्य छन् ।