धनकुटा - धनकुटाको महालक्ष्मी नगरपालिका–५ ज्यामिरेमा एक वृद्धको हत्या अभियोगमा मृतकका नाति पक्राउ परेका छन् ।स्थानीय ७० वर्षीय मानबहादुर बस्नेतको हत्या अभियोगमा उनकै २२ वर्षीय नाति निरज कटुवाल पक्राउ परेको प्रहरीले जनाएको छ । अभियुक्त कटुवाल मृतकका छोरीतर्फका नाति हुन् ।
कटुवालले बिहीबार मध्यरातमा बस्नेतको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको अनुसन्धान अधिकृत मानबहादुर श्रेष्ठले जानकारी दिए । 'राति १० बजेसम्म आफ्नै घरमा रहेका कटुवालले आधा घन्टाको दुरीमा रहेको मावली घर पुगेर हत्या गरेको देखिन्छ', उनले भने, 'विगतमा मावली घर आतेजाते गर्दा नातिलाई गलत बाटोमा नलाग्न भन्दै सम्झाइबुझाइ गरेको र सोही निहुँमा प्रतिशोध साँध्न हत्या गरेको खुलेको छ ।'

माथिल्लो तलामा रहेका मृतकका भाइ कमलले घटनाबारे थाहा नपाएपछि घटना रहस्यमय बनेको अवस्थामा पक्राउ परेका उनका नातिबाट त्यसबारे खुलासा भएको प्रहरीको भनाइ छ । सुस्तश्रवणका कारण कमलले घटनाबारे शुक्रबार बिहान दाजुको अवस्था देखेर मात्र थाहा पाएपछि छिमेकमा खबर गरेका थिए । कटुवालले कमलको सिरानीमा रहेको टर्च बालेर भान्सामा रहेको खुकुरी प्रयोग गरी बस्नेतको टाउको छिनाएर हत्या गरेको प्रहरीले जनायो । टाउको झोलामा राखेर आधा घन्टाको दुरीमा रहेको खोल्सामा लगेर ढुंगाले किचेर अनुहार चिन्न नसक्ने अवस्थामा फेला परेको छ । दुवै कान भने मृतकको बारीमा पुरिएको अवस्थामा प्रहरीले फेला पारेको छ ।
लेगुवा बजारबाट करिब तीन किलोमीटर दुरीमा रहेको घटनास्थलमा शुक्रबार दिनभर प्रहरीले अनुसन्धान गरेपछि संलग्न रहेको आशंकमा कटुवाललाई पक्राउ गरेको अनुसन्धान अधिकृत श्रेष्ठले जनाए । 'प्रारम्भिक अनुसन्धानबाट घटनामा निरज नै संलग्न भएको पुष्टि भएको छ', उनले भने, 'बाँकी अदालती बयान र थप अनुसन्धान प्रक्रिया अघि बढ्ने छ ।'