झापा : छुट्टाछुट्टै स्थानबाट लागूऔषधसहित नौ जना पक्राउ परेका छन्।

OM Sai Pathibhara Hospital

रूपन्देही, बुटवल उपमहानगरपालिका-१२ ढवाहा पिसपार्कस्थित खाजा घरबाट अवैध लागूऔषध चरेश १४ केजीसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा उक्त खाजा घरका संचालक ६५ वर्षीय काशी प्रसाद छन्त्याल, .बाग्लुङ निस्ती गाउँपालिका-६ घर भएकी ५० वर्षीया बिरमा बुढा र ३० वर्षीया जेनी घर्तिमगर रहेका छन्। विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको संयुक्त टोलीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।

सिरहा, सिरहा नगरपालिका-१६ स्थित माडर मिलनचोक जाने सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब ४ सय ४० मिलिग्रामसहित ३ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा कल्याणपुर नगरपालिका-३ बस्ने २३ वर्षीय प्रमोद कुमार मण्डल, १९ वर्षीय जितेन्द्र कुमार महरा र १९ वर्षीय बीरेन्द्र कुमार मण्डल रहेका छन्। ईलाका प्रहरी कार्यालय माडर सिरहाबाट खटिएको प्रहरीले स.१० प ४३९८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

सुर्खेत, वीरेन्द्रनगर नगरपालिका-३ मुलपानी टोलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९० मिलिग्रामसहित सोही नगरपालिका-२ बस्ने २१ वर्षीय अशोक बुढालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालयबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो।

कैलाली, जानकी गाउँपालिका-९ कटासेबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ६० मिलिग्रामसहित २ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा सोही ठाउँस्थित कुन्ती टोल बस्ने २९ वर्षीय हर्क परियार र १८ वर्षीय किशोर रहेका छन्। प्रहरी चौकी अमरावतीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो।