झापा – पानी नपर्दा र हिमपात पनि नहुँदा अन्नबाली तथा अलैँचीका बोट सुक्न थालेपछि सङ्खुवासभाका किसान चिन्तित भएका छन् ।
लामो समयदेखि पानी नपर्दा हिउँदे बाली तथा बगानमा अलैँचीको बोटसमेत सुक्न थालेको छ । यो वर्ष हिउँदे बाली गहुँ, तोरी, आलु, तरकारी तथा अरू बालीको उत्पादन घट्ने चिन्ता भएको खाँदबारी नगरपालिका–४ का भीमबहादुर गुरुङले गुनासो गरे । गहुँ र तोरीलाई खोलाबाट पानी ल्याएर सिँचाइ गरे पनि सबै ठाउँमा पानी पुर्याउन नसकिएको उनको भनाइ छ ।
अर्का किसान मानबहादुर गुरुङ गहुँ, तोरीमा सिँचाइ हुन नसक्दा बिउ पनि मासिने अवस्था आएको बताए । पानी नपरेका कारण सडक र खेतबारी सबैतिर धुलैधुलो मात्र उड्न थालेको गुरुङको भनाइ छ । लामो समय पानी नपर्दा जताततै धुलैधुलो, हुस्सु र बाक्लो बादल हुने गरेकाले मानवीय स्वास्थ्यमा समेत असर पार्न थालेको उनले बताए ।
‘करेसाबारीमा लहलह बढ्नुपर्ने तरकारीका बिरुवा सुक्दै गएपछि घरखर्च चलाउन मुस्किल पर्न थालेको छ । तरकारी खेतीबाहेक अर्को आम्दानीको स्रोत नभएका हामीजस्ता किसान लामो समयकाे खडेरीले तरकारी बाली बोटमै सुक्न थालेपछि पिर पर्न थालेको छ’, गुरुङले गुनासाे गरे ।
तीन लाख ४७ हजार सात सय ७३ हेक्टर क्षेत्रफलमा फैलिएकाे सङ्खुवासभामा कृषियोग्य जमिन ५९ हजार ६१ हेक्टर रहेको सिँचाइ कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कृषियाेग्य जमिनमध्ये १५ हजार दुई सय ९९ हेक्टरमा मात्रै सिँचाइ सुविधा पुगेको छ ।
सङ्खुवासभाको हिमाली र उच्चपहाडी भेगहरू किमाथाङ्का, भोटखोला, मकालु, सिलिचोङ, सभापोखरी, तिनजुरे–मिल्के–जलजले (टीएमजे), चौकीमङ्गलबारे लगायतका क्षेत्रमा समेत यस वर्ष पर्याप्त हिमपात नहुँदा किसान चिन्तित भएका छन् ।