OM Sai Pathibhara Hospital

झापा -लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले राष्ट्रिय सहमतिका आधारमा पार्टी अध्यक्ष महन्थ ठाकुरलाई नयाँ राष्ट्रपतिमा चयन गर्न नेपाली कांग्रेससमक्ष आग्रह गरेको छ । बुधबार काठमाडौंमा कांग्रेस सभापति शेरबहादुर देउवालगायत नेताहरूसँग लोसपाका नेताहरूले राष्ट्रपतिमा ठाकुरको नाममा राष्ट्रिय सहमति गर्न आग्रह गरेका हुन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्नेमा जोड दिएको अवस्थामा ठाकुरलाई राष्ट्रपति बनाउन प्रस्ताव गरिएको लोसपाका नेता शरतसिंह भण्डारीले जानकारी दिए ।

मुलुकको परिस्थितिलाई विचार गरेर राष्ट्रपति सहमतिका आधारमा बनाउनुपर्ने र उचित पात्र ठाकुर भएको उनको भनाइ छ । सो छलफलका क्रममा सभापति देउवाले सहमतिका लागि ठाकुर उपयुक्त पात्र भए पनि राष्ट्रपतिका विषयमा कांग्रेसभित्र निर्णायक छलफल नभएको बताएको भण्डारीले जानकारी दिए ।

लोसपा नेताले यसअघि प्रधानमन्त्री प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी ओलीलगायत नेताहरूसँग भेटेर राष्ट्रपतिमा ठाकुरलाई सर्वसम्मत गर्न आग्रह गरेका थिए । राष्ट्रपति पदको निर्वाचनका लागि यही फागुन १३ गते उमेदवारी दर्ता गर्ने कार्यतालिका छ । त्यसका लागि नेताहरू आन्तरिक छलफलमा जुटेका छन् ।