झापा- चितवन राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा पछिल्लो सात महिनाको अवधिमा १४ वटा गैंडा मरेका छन् ।
चालु आर्थिक वर्षको यही फागुन ९ गतेसम्ममा १४ गैंडा मरेको पाइएको हो । त्यसमध्ये निकुञ्जमा १२ वटा र आसपासको वन क्षेत्रमा दुईटा गैंडा मरेका हुन् ।
निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालु आर्थिक वर्षमा चोरी शिकारीबाट तीन वटा गैंडा मरेका छन् । त्यस मध्ये दुईटा निकुञ्ज क्षेत्रमा र एउटा वन क्षेत्रमा चोरी सिकारीले गैंडा मारेका हुन् । चोर सिकारीले मारेका दुई गैंडामध्ये एउटाको खाग लगिएको थियो भने अर्को बच्चा थियो । अन्य गैंडा कालगतिले मरेको दाबी निकुञ्ज प्रशासनले गरेको छ ।
सन् २०२१ मा गरिएको गणनाअनुसार नेपालभर सात सय ५२ गैंडा रहेकोमा चितवनमा मात्रै छ सय ९४ गैंडा छन् । चोरी सिकारीले गैंडा मार्न थालेपछि निकुञ्ज विभागले विभागका उपमहानिर्देशकको नेतृत्वमा अध्ययन टोली बनाएर अध्ययन सुरू गरेको छ ।
गत वर्ष चितवन निकुञ्ज र वन क्षेत्रमा गरी ४१ वटा गैंडा मरेका थिए ।