झापा – चीनसँग सीमाना जोडिएको भोटखोला गाउँपालिका–१, किमाथांकामा भोकमरी हुन नदिन खाद्यान्न वितरण गरिएको छ । भोटखोला–१ का वडाअध्यक्ष नुर्पु च्याबाले भोटखोला गाउँपालिका, १ नम्बर वडा कार्यालय र दाताहरुबाट सहयोग जुटाएर वडाबासीलाई खाद्यान्न चामाल, नुन, तेल लगायतका दैनिक उपभोग्य सामानहरु वितरण गरेको बताए ।

भोटखोला गाउँपालिको तर्फबाट २ लाख १० हजार, पर्यटन व्यवसायी जेनजेन लामाबाट ३ लाख ५५ हजार र भोटखोला–१ वडा कार्यालयको तर्फबाट २ लाख गरि कुल ७ लाख ६५ हजार रुपैयाँ बराबरको खाद्यान्न वितरण गरिएको उनकाे भनाइ छ ।

OM Sai Pathibhara Hospital

यस क्षेत्रमा आलु, मकै, गहुँ, जौ मात्रै उत्पादन हुने भएकाले खाद्यान्न किन्न चिनियाँ बजार नै जानु पर्ने बाध्यता छ । तर लामाे समयदेखि चिनियाँ नाका बन्द भएकाले समस्या भएपछि खाद्यन्न वितरण गरिएकाे हाे ।

सदरमुकाम खाँदबारीबाट १ सय ६२ किमि उत्तरमा किमाथाँका गाउँ पर्दछ । किमाथाँका गाउँको पारिपट्टि चीनको देदाङ्ग, रियू र चाँगा बजार रहेको छ । बीचमा मितेरी पुलले मात्रै नेपाल र चीनको सीमाना छुट्ट्याएको छ । किमाथांका नाका चीन सरकारले कोभिड १९ को कारण देखाउँदै २०७६ माघ ५ गते बन्द गरेको थियो । प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा पटक–पटक जिल्ला प्रशासन कार्यालय खाँदबारीमा राजनैतिक दलसहितका सर्वदलीय बैठकले किमाथांका नाका खुलाउन पहल गर्ने निर्णय गर्दै आएको छ । त्यही निर्णय बोकेर परराष्ट्र मन्त्रालयसम्म पुगेर भोटखोला गाउँपालिकाले नाका खुलाउन पहल गरिरहेको छ । तर, पनि चीन सरकारले नाका खुलाउन चासो देखाएको छैन् ।

किमाथांका नाका बन्द हुँदा भोटखोला गाउँपालिकाका हटिया, चेपुवा, हुङहुङ, छुमसुर र च्याम्ताङ लगायतका गाउँहरु प्रभावित बन्दै गएका छन् । त्यस क्षेत्रका अधिकांश मानिसहरु चीनको देदाङ्ग, रियू र चाँगा बजारमा दैनिक उपभोग्य खाद्यान्नदेखि लत्ताकपडा समेत त्यहीँ निर्भर हुने गरेका थिए । सदरमुकाम खाँदबारी आवातजावात गर्न एक हप्ता लाग्ने भएकाले उनीहलाईरु चिनियाँ बजारमा भर पर्नुपर्ने बाध्यता छ ।