झापा- नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरी आज रिहा हुने भएका छन्।  कैलाली प्रतिनिधिसभा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद चौधरी आज जिल्ला कारागार कैलालीबाट रिहा हुने भएका हुन्। कारागार व्यवस्था विभागका महानिर्देशक चक्रपाणि पाण्डेले राष्ट्रपतिबाट आम माफी पाएर चौधरी छुट्न लागेको बताए। उनले गृह मन्त्रालयले आम माफीको पत्र विभागलाई पठाए लगत्तै उनी छुट्ने बताए।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी छन्। त्यसमा चौधरीको पनि नाम रहेको छ।

OM Sai Pathibhara Hospital

२०६६ भदौ ३ मा ट्र्याक्टर जलाएको भन्दै २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले अरुण चौधरीसहित तीनजनाविरुद्ध जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रूपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो। चौधरीले शुक्रबार नै ८ लाख धरौटी बुझाइसकेका छन्।

छ महिना कैद भुक्तान नगरेको भन्दै चौधरीलाई माघ १९ गते प्रहरीले पक्राउ गरेको थियो।