धनकुटा - धनकुटा बहुमुखी क्याम्पसमा विद्यार्थी भर्नाको विषयमा बिहीबार अपराह्न दुई संगठनबीचको विवादपछि झडप हुँदा दुई विद्यार्थी घाइते भएका छन् । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ र नेकपा एमाले निकट अनेरास्ववियुबीच झडप भएको प्रहरीले जनाएको छ ।

OM Sai Pathibhara Hospital

घटनामा नेविसंघतर्फका दुई विद्यार्थी घाइते भएका छन् । घाइते हुनेमा नेविसंघ क्याम्पस इकाई सभापति सुवास भण्डारी र सचिव युवराज कार्की रहेका छन् । घाइते दुवैलाई उपचारका लागि जिल्ला अस्पताल लगिएको प्रहरीले जनाएको छ । जसमध्ये भण्डारीलाई थप उपचारका लागि विराटनगरतर्फ लगिएको जनाइएको छ । घटनाबारे आधिकारीकरुपमा प्रहरीमा उजुरी आइनसकेको प्रवक्ता डीएसपी नरेन्द्र कुँवरले बताए ।


घटनाबारे क्याम्पस प्रमुख होमबहादुर बस्नेतले समेत पुष्टि गरे । उनका अनुसार स्नातक तह पहिलो वर्षको नयाँ भर्नाको अन्तिम दिन बिहीबार विद्यार्थी लामबद्ध रहेको बेला विवाद उत्पन्न भएको थियो । त्रिभुवन विश्वविद्यालयले आगामी चैत ५ गते स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मिति घोषणा गरेको छ । स्नातक तह पहिलो वर्षर्को भर्ना बिहीबारसम्म कायम गरिएको बस्नेतले बताए । अन्तिम दिन भएकाले भर्नाका लागि विद्यार्थी साँझ ५ बजेसम्म लामबद्ध रहेको बेला घटना भएको उनी बताउँछन् ।


नेविसंघका विद्यार्थीले फर्जी विद्यार्थी भर्ना कार्य बन्द गर्न दबाब दिएका र अनेरास्ववियुले लाइनमा रहेका सबैको भर्ना हुनुपर्ने अडान लिएपछि विवाद उत्पन्न भएको जनाइएको छ । फर्जी विद्यार्थी भर्ना गर्न खोजिएकाले विरोध गर्दा अनेस्ववियुका विद्यार्थीबाट सांघातिक आक्रमण भएको नेविसंघका जिल्ला सभापति क्रान्ति पौडेलले बताए । उता, विश्वविद्यालय प्रशासनले भने लाइनमा रहेका विद्यार्थीलाई भर्ना गर्न दिइनुपर्ने जनाएको क्याम्पस प्रमुख बस्नेत बताउँछन् । अनेरास्वयुविका जिल्ला अध्यक्ष प्रकाश गिरीले लाइनमा रहेका विद्यार्थीको भर्ना रोक्न नहुने भन्दा नेविसंघले क्याम्पसमा ताला लगाउन खोजेपछि विवाद उत्पन्न भएको बताए ।



यसैबीच, नेविसंघले बिहीबार बेलुकी विज्ञप्ति जारी गर्दै घटनाका दोषी माथि कानुनी कारबाहीको माग गरेको छ । घटनाको विरोधमा नेविसंघले सहायक क्याम्पस प्रमुखको कक्ष र प्रशासनिक भवनमा तालाबन्दी गरेको छ । नेविसंघ क्याम्पस इकाईका सचिव सुवास खनालद्वारा हस्ताक्षरित उक्त विज्ञप्तिमा भनिएको छ, ‘गैरकानुनी विद्यार्थी भर्ना रद्द नगरिँदासम्म तालाबन्दी जारी रहनेछ ।’