झापा - सन् २०२३ मा हज यात्रा गर्न चाहने इस्लाम धर्मावलम्बीका लागि आवेदन खुला गरिएको छ। नेपाल हज समितिले बिहीबार सूचना प्रकाशन गरी आगामी चैत ४ गतेभित्र आवश्यक प्रक्रिया पूरा गरी निवेदन दिन भनेको छ।  साउदी अरब सरकारले यसपटक हज यात्राका लागि नेपाललाई १२ सय कोटा छुट्याएको छ। समितिका अनुसार हज यात्राका लागि पहिलो किस्ता वापतको दुई लाख २५ हजार रुपैयाँ आफ्नो जिल्ला प्रशासन कार्यालयमा बुझाएर निवेदन दिनुपर्ने छ। 

OM Sai Pathibhara Hospital

निवेदनसँगै नेपाली नागरिकताको प्रमाणपत्र र राहदानीको छायाप्रति, रकम बुझाएको भौचर, हालसालै खिचिएको २ प्रति पासपोर्ट साइजको फोटो, कोरोनाविरुद्धको पूर्ण खोप लगाएको क्यूआर कोड र बैंक खाताको चेकको फोटोकपी पेस गर्नु पर्नेछ। थप जानकारी आवश्यक परेमा नेपाल हज समितिको सचिवालय सिंहदरबारमा सम्पर्क गर्न भनिएको छ।