झापा- लालीगुराँस नगरपालिका–३ वसन्तपुरमा लिम्बू जातिको संस्कारमा आधारित अन्तर्राष्ट्रियस्तरको सांस्कृतिक पार्क निर्माण गरिएको छ । विशेषगरी लिम्बू जातिको जन्म, मृत्यु, विवाह, उधौली उभौलीजस्ता मौलिक र जातीय पहिचानसँग सम्बन्धित क्रियाकलाप पार्क परिसरमा गर्न थालिएको छ ।
लिम्बू जातिले ढुंगा र माटोलाई विशेष पूजाआजा गर्छन् । ढुंगालाई विशेष देवताका रूपमा पूजा गर्ने लिम्बू जातिको धेरै पुरानो संस्कार हो । उनीहरू प्रकृतिपूजक पनि मानिन्छन् । लिम्बू समुदायको धर्मग्रन्थका रूपमा लिइने मुन्धुममा ढुंगालाई विशेष महत्त्व दिएको छ । यही मुन्धुममा आधारित पार्क र संग्रहालय निर्माण गरिएको नगर प्रमुख अर्जुनबाबु माबोहाङले बताए ।
पार्क नगरपालिका, नयाँ सहर आयोजना, पर्यटन मन्त्रालय तथा विभिन्न दाताहरूको सहयोगमा निर्माण गरिएको हो । पार्कलाई लिम्बूहरूको चोत्लुङ (सिद्धिस्थल) को रूपमा विकास गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ । पार्कमा हालसम्म करिब ८० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको छ ।
संग्रहालयमा लिम्बू जातिले पूर्वी क्षेत्रमा राज्यगर्दा प्रयोग गरेका हातहतियार तथा पुरातात्विक वस्तु, पूर्वका माझ किराँत, वल्लो किराँत र पल्लो किराँत क्षेत्रको राज्य सञ्चालनताका सीमा जोगाउन प्रयोग गरेका ढुंगा तथा घरेलु हातहतियार राखिएको छ । संग्रहालयमा लिम्बू जातिको खानपान संस्कार झल्किने सामानसमेत राखिएको छ ।