विराटनगर - विराटनगरस्थित तुलसी बहुमुखी सहकारी संस्थामा जम्मा गरिएको सर्वसाधारणको निक्षेप घोटाला गरी सञ्चालक फरार भएको भन्दै बचतकर्ता संघर्षमा उत्रिएका छन् ।
सञ्चालकहरुबाट करोडौं रुपैयाँ घोटाला भएको र बचत फिर्ता गर्न जाँदासमेत नपाएपछि सर्वसाधारणले गएराति सहकारीका अध्यक्ष केदारनाथ शर्माको घर घेराउ गरेका छन् ।
बचतको साँवा र ब्याज फिर्ता गरिनु पर्ने मागसहित सर्वसाधारणले विराटनगर–२, मुनालपथमा अवस्थित शर्माको घर घेराउ गरेका थिए । सहकारी ऐन र क्षेत्राधिकारभन्दा बाहिर गई कारोबार गर्दा सहकारी संस्थाका सञ्चालकहरू सम्र्पकविहीन बनेका छन् । यसबाट निक्षेपकर्ताको करोडौं रूपैयाँ जोखिममा परेको बताइएको छ ।
सहकारीका बचतकर्ता ममता साहले आफूले सहकारीमा जम्मा गरेको पैसा झिक्न जाँदा नदिएपछि सहकारी निकै संकटका पुगेको थाहा पाएको बताइन् ।
उनले भनिन्, “१८ लाख रुपैयाँ मुद्धती गरेकी थिएँ अवधि पूरा भएपछि फिर्ता लिन जाँदा दिएनन् ।” साँवा र ब्याज रकम फिर्ता दिन कर्मचारीले आलटाल गरेपछि आफू झस्किएको उनले सुनाइन् ।