काभ्रेपलाञ्चोक- पनौती नगरस्थित पुल्चोकी–कुशादेवी क्षेत्रमा प्याराग्लाइडिङ उडान सुरुआत गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नागरिक उड्डयन प्राधिकरणले काभ्रेको फुल्चोकी–कुशादेवी क्षेत्रमा स्थानीय फुल्चोकी एड्भेन्चर प्रालिलाई गत पुस अन्तिम साता प्याराग्लाइडिङ (मनोरञ्जनात्मक उड्डयन सञ्चालन)को अनुमति दिएको थियो ।उक्त स्थानमा प्याराग्लाइडिङ सञ्चालनार्थ प्राधिकरणले गत माघबाट सञ्चालन गर्न पाउने गरी अनुमति प्रदान गरेको हो । प्राधिकरणबाट सञ्चालन निर्देशन भएपछि व्यावसायिक उडानको तयारीस्वरुप सोमबारदेखि परीक्षण उडान सुरु गरिएको प्रालिका अध्यक्ष छविलाल हुमागाईँले बताए । “व्यावसायिक उडानका लागि परीक्षण उडान थालेका हौँ, तीन दिनको परीक्षण उडानपछि व्यावसायिक उडान गर्नेछौँ”, उनले भने । सम्पूर्ण तयारीपछि उडान थालिएको जनाइएको छ ।अध्यक्ष हुमागाईँका अनुसार हाल उडानका लागि तीन प्याराग्लाइडिङबाट ‘डेमोस्ट्रेशन’ उडान भएको हो । परीक्षण उडानपछि क्रमशः १० वटाले प्याराग्लाइडिङबाट उडान सञ्चालनमा ल्याइने जनाइएको छ । ‘डेमोस्ट्रेशन’ उडानपछि ‘टेकअप’ र ‘ल्याण्डिङ’का स्थान यकिन गरी दुवै क्षेत्रको दिगो व्यवस्थापनमा लाग्ने उनले बताए ।कुशादेवी क्षेत्र तीन वर्षअघि विहावर क्षेत्र पर्यटन महोत्सवका क्रममा फुल्चोकीको गुर्दूमडाँडाबाट प्याराग्लाइडिङको परीक्षण उडान गरिएको क्षेत्र हो । त्यसबेला १५ प्याराग्लाइडिङद्वारा तीन दिन परीक्षण उडान गरिएको थियो भने त्यसपछि अन्य दुई समयमा पनि व्यावसायिक उडानका लागि परीक्षण भइसकेका थिए । उक्त स्थानबाट उडान भर्ने स्थान, ल्याण्डिङ, हावाको चाप तथा अन्य वातावरण अनुकूल भएकाले हाल अनुमति पाएको जनाइएको छ ।यस्तै, प्रालिले दैनिक १० प्याराग्लाइडिङले बिहान १० देखि अपराह्न ४ बजेसम्म उडान अनुमति पाएको हो । तोकिएको समयमा छ हजार पाँच सय फिट उचाइसम्म ‘भिजीबीलिटी’ रहने जनाइएको छ । प्याराग्लाइडिङ गुर्दूमडाँडाबाट उडान सुरुगरी कुशादेवीको बन्चरेटारमा ल्यान्डिङ हुन्छ । गुर्दूमडाँडाबाट बन्चरेटार सडकको दूरीका हिसाबले चार किलोमिटर हो । तर प्याराग्लाइडिङको दूरी करिब एक हजार ५० मिटर छ । उडान भर्ने स्थान समुद्री सतहबाट दुई हजार ३५० मिटर उचाइमा छ भने ल्याण्डिङ हुने स्थान बन्चरेटार एक हजार ३०० मिटरमा छ ।