सुर्खेत- वीरेन्द्रनगरमा बसको ठक्करबाट एक महिलाको मृत्यु भएपछि सोमबार बिहानैदेखि आफन्त आन्दोलनमा उत्रिएका छन् । उचित क्षतिपूर्ति र चालकलाई कारबाहीको माग गर्दै आन्दोलनमा उत्रिएका आफन्तहरुले प्रदेश राजधानी वीरेन्द्रनगर बजार बन्द गराएका छन् ।
आन्दोलनकारीले वीरेन्द्रनगरका मुख्य चोकहरू यरिचोक, मंगलगढी चोक, एयरपोर्ट चोक र बसपार्कमा टायर बालेर सडकअवरुद्ध गरेका छन् । आन्दोलनका कारण प्रदेश राजधानी वीरेन्द्रनगरमा चल्ने सवारी साधनहरू ठप्प भएका छन् । छिटपुट मोटरसाइकल बाहेकका अन्य सवारी साधनहरू चल्न सकेका छैनन् । बसको ठकरबाट आइतबार दिउँसो वीरेन्द्रनगर बसपार्कमा जाजरकोटको छेडागाड-६ की ६६ वर्षीय नदी रावतको मृत्यु भएको थियो । रावत हाल वीरेन्द्रनगर-१० को बामेखोलामा बस्दै आएकी थिएन । बा४ख ८०६१ नम्बरको बसले उनलाई ठक्कर दिएको थियो ।
तर प्रहरीले मृतकको पहिचान नै नगरेर प्रदेश अस्पताल कालागाउँमा पठाएको थियो । अस्पतालले उनलाई मृत घोषणा गरिदियो । बुलुबुले चोकबाट बसपार्क आउँदै गरेको उक्त बसले जेब्रा क्रसिङबाट हिँडिरहेको अवस्थामा रावतलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी लक्ष्मण शाहीले बताए ।
सोही घटनालाई लिएर आफन्तहरूले आइतबार राति १० बजेसम्म बसपार्क, मंगलगढी चोकलगायतका ठाउँमा टायर बालेर आन्दोलन गरिरहेका थिए । उनीहरु सोमबार बिहानैदेखि पुनः आन्दोलनमा उत्रिए छन् । आफन्तलाई नसोधेर शव उठाइएको भन्दै उनीहरू आक्रोशित बनेका छन् । ठाउँठाउँमा आन्दोलनकारी र प्रहरी बीच झडप भएको छ । यसका साथै, यातायात व्यवसायमा संलग्नहरू आन्दोलनकारी माथि जाइलागेका छन् । झडपक क्रममा पत्रकारसहित केही व्यक्ति घाइते भएका छन् । डिएसपी शाहीका अनुसार बस चालक फरार रहेका छन् भने बसलाई नियन्त्रणमा लिइएको छ । फरार बस चालकको खोजी कार्य भइरहेको उनले बताए ।