झापा । नेपाल चिकित्सक संघले प्रहरीबाट ट्रमा सेन्टरका डाक्टर कुटिएको विरोधमा आइतबार देशभरका स्वास्थ्य संस्थाको आकष्मिकबाहेकका सेवा ठप्प पार्ने निर्णय गरेको छ ।
घटनापछि आन्दोलिन रहेको संघको शनिबार बसेको बैठकले विरोधस्वरूप आइतबार देशभरका स्वास्थ्य संस्था बन्द गर्ने निर्णय गरेको हो ।
चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की र महासचिव डा. बद्री रिजालले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै लोकतन्त्रमा भएको ज्यादतिविरुद्ध बाध्य भएर संघर्षमा उत्रनु परेको उल्लेख छ ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसदको संयुक्त बैठकलाई सम्बोधन गरेर फर्किने क्रममा प्रहरीले उनको सवारी हुने क्षेत्रमा हिँड्डुलसमेत गर्न नपाउने गरी कडाइ गरेको थियो।
त्यसक्रममा राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहमाथि प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरुङले निर्घात कुटपिट गरेका छन्।
उनको आइसियूमा अहिले उपचार भइरहेको बताइएको छ । घटनाको चौतर्फी विरोधपछि उनलाई शनिबार सरकारले निलम्बन गरेको छ ।