झापा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सवारीका क्रममा कुटिएका चिकित्सकसँग राष्ट्रपतिले माफी माग्नुपर्ने बताएकाे छ । पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले उनको फेसबुक मार्फत एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन् ।
ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट सिकिस्त बनाएको घटनाले आफू मर्माहत भएको उनले उल्लेख गरेका छन् ।
´शुक्रबार दिउँसो सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारी बानेश्वरस्थित संघीय संसद्को संयुक्त सदनलाई सम्बोधन गरेर फर्किने क्रममा बाटो हिँडेको भन्दै बाटोमा हिँड्दै गरेका ट्रमासेन्टरका चिकित्सकलाई प्रहरीले निर्घात कुटपिट गरी सिकिस्त बनाएको घटनाले हामी मर्माहत भएका छौँ,’
प्रवक्तासमेत रहेका शाहीले भनेका छन्, ‘यो प्रजातान्त्रिक मुलुकमा बाटोमा हिँडेका आम नागरिकलाई कुटपिट गर्नु र त्यसमाथि अति संवेदनशील मानिएका चिकित्सकलाई नै कुटपिट गर्नु यो घाेर आपत्तिजन्य निन्दनीय कार्य हो ।’
राष्ट्रपतिलाई सम्मान दिनुपर्नेमा सहमत भएपनि जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको निन्दा गरिएको छ ।
‘सम्माननीय राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्सना गर्दछु । साथै सम्माननीय राष्ट्रपतिले यो विषयमा चिकित्सकसँग माफी माग्न हार्दिक अनुरोध गर्दछु,’ विज्ञप्तिमा भनिएको छ ।