दाङ -सरकारले नागरिकलाई प्रदान गर्ने सेवा सुविधा सहज र छिट्टो दिन निर्देशन दिएपनि दाङका नागरिकले भने त्यसको महसुस गर्न पाएका छैनन् । सेवा लिनका लागि सबैभन्दा बढी भीड हुने यातायात र मालपोत कार्यालय जस्ता ठाउँमा अझै पनि नागरिकले सेवा लिन घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता छ ।यातायात र मालपोत कार्यालय जस्ता ठाउँमा अझै पनि नागरिकले सेवा लिन घण्टौं लाइनमा बस्नु पर्ने बाध्यता छ ।

OM Sai Pathibhara Hospital

केही दिनदेखि सेवाग्राही यसरी नै सेवा लिन घण्टौंसम्म लाइनमा बस्ने गरेका छन् । जसले गर्दा उनीहरुले सेवा लिन भन्दा पनि सास्ती धेरै भोगेको गुनासो गरेका छन् । सरकारी निकायले समयमै सेवा दिने कागजी कुरा गरेपनि व्यवहारमा लागू नगर्दा दुःख पाएको सेवाग्राहीको गुनासो छ । विगत १७ वर्षदेखि दाङको यातायात व्यवस्था कार्यालयले भाडाको घरबाट सेवा दिँदै आएको छ । घोराही तुलसीपुर सडकखण्डमा पर्ने कार्यालयमा सेवाग्राहीलाई सेवा लिनका लागि मात्र नभइ पार्किङको समेत समस्या हुने गरेको छ ।

सेवाग्राहीले भने तुलसीपुरमा मात्र कार्यालय हुँदा धेरै भीड हुने गरेका बताएका छन् । उनीहरुले अनलाइन मार्फत सेवा लिने वा अन्य ठाउँमा पनि शाखाहरु खोल्दा सेवा लिन सहज हुने बताउँदै आएका छन् । तर, सरकारी निकायले न त क्षमता विस्तारमा ध्यान दिएको छ न त आफ्नो सेवा प्रभावकारी बनाउन नै । यातायात व्यवस्था कार्यालयमा नयाँ लाइसेन्स, नविकरण तथा लिखित परीक्षालगायतको राजस्व बुझाउने भीड लाग्ने गरेको छ । अझ लिखित परीक्षा हुने दिन सेवाग्राही ३र४ घण्टासम्म लाइनमा बस्न बाध्य हुन्छन् । कुशल व्यवस्थापन नहुँदा सेवाग्राहीले दैनिक लामो समय लाइन बसेर सेवा लिनपर्दा पनि सरोकारवाला निकायले समस्या समाधानका लागि चासो देखाएका छैनन् ।

यता कार्यालयले भने ट्रायल तथा रिट्रायल र लिखितमा पास भएकाहरु एकै पटक सेवा लिन आउँदा समस्या भएको बताएको छ । सीमित कर्माचारीले एकै ठाउँबाट दुई वटा सेवा प्रदान गर्दा पनि सेवा प्रवाहमा केही समस्या भएको कार्यालयको दाबी छ । त्यसैगरी पर्याप्त पूर्वाधार र स्थानका व्यवस्थापन नहुँदा पनि सेवाग्राहीले समस्या भोगेको कार्यालयको भनाइ छ ।

नागरिकलाई छिट्टो सेवा सुविधा प्रदान गर्न सरकारी निर्देशन मात्र पर्याप्त होइन । अनलाइन प्रविधि अपनाएर वा शाखा बिस्तार गरेर भएपनि नागरिकलाई सहज र चुस्त सेवा दिन जरुरी छ । यसले सेवाग्राहीलाई सहज हुनुका साथै सेवा प्रवाह गर्ने सरकारी निकायलाई कार्य व्यवस्थापनमा सहज हुन्छ ।