बिर्तामोड । विगतमा दुर्गा मावि गरामनीलाई करोडौंको जग्गा दान दिएर अहिले विचल्लीमा परेका जग्गादाता उजारु राजवंशीको परिवारका लागि घर निर्माण शुरु गरिएको छ । 


OM Sai Pathibhara Hospital

बुधवार बिर्तामोड नगरपालिकाका नगर प्रमुख पवित्रा महतारा प्रसाईले घरको शिलान्यास गरिन् । करिव ५ लाख रुपैयाँको लागतमा तीन कोठे पक्की घर बनाइदिन लागेको उजारु राजवंशी भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले बताए । घर निर्माणका लागि विभिन्न दाताहरुले सहयोग गर्ने बचन दिएका छन् । घरको शिलान्यास गर्दै नगर प्रमुख प्रसाईले उहिले हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवारलाई अहिले उनीहरुको नभएको अबस्थामा समाजले सहयोग गर्नुपर्ने बताइन् ।


उनले घर निर्माणका लागि नगरपालिकाका तर्फबाट सहयोग गर्ने प्रतिवद्धता जनाइन् । कार्यक्रममा बिर्तामोड नगरपालिका वडा नं २ का वडाध्यक्ष किशोरकुमार पौडेलले सो घरको लागि चाहिने सम्पूर्ण ढोकाहरु आफूले व्यक्तिगत रुपमा दिने घोषणा गरे । त्यस्तै वडा नं ५ का वडाध्यक्ष रोहित प्रसाईले आफूले पाउने एक महिनाको तलब भत्ता सो घरको लागि उपलब्ध गराउने घोषणा गरे ।

 

त्यस्तै वडा नं ८ का वडाध्यक्ष अजय कार्कीले आफूले गर्नुपर्ने सहयोग गर्ने बताए भने बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनालीले सो घरको लागि आबश्यक कर्कट पाता सहयोग गर्ने घोषणा गरे ।

 

सोही अवसरमा रोटरी क्लब अफ डिल्लीबजार काठमाडौंले ३० बोरा र कालीमाता मठ मन्दिर समितिले २० बोरा सिमेन्ट सहयोग गरेका छन् । ती सिमेन्ट मन्दिर समितिका काजी बुढाथोकी, रविन बुढाथोकी, गणेश उप्रेतीले हस्तान्तरण गरेका थिए । उजारु राजवंशी भवन निर्माण समितिका संयोजक कृष्णप्रसाद पाठकको अध्यक्षतामा भएको कार्यक्रममा सहभागी अन्यले पनि सहयोग गर्ने बताएका छन् । 


कार्यक्रममा वडा सदस्य सल्पना राजवंशी, राजवंशी समाज विकास समितिका नगर अध्यक्ष जीतलाल राजवंशीलगायतको उपस्थिति रहेको थियो । भवन निर्माण समितिका सदस्य इन्द्रसिंह राजवंशीले घर निर्माणको आबश्यकताका बारेमा प्रकाश पारेको कार्यक्रमको संचालन  सदस्य सरोज पौडेलले गरेका थिए ।


हिजो जग्गाजमिन हुँदाखेरि विद्यालयलाई सहयोग गरेका राजवंशी परिवार अहिले विचल्लीमा परेका छन् । जग्गादाता उजारु राजवंशीको निधनपछि उनको परिवार झनै समस्यामा परेको हो । उजारुकी श्रीमती वयोबृद्धा चम्पा राजवंशी बस्ने राम्रो घर नभएपछि घर बनाइदिने अभियान संचालन गर्न लागिएको समितिले जनाएको छ । उजारु राजवंशीको घर निर्माण गर्नका लागि गत भदौमा समिति गठन गरिएको थियो ।


दाता परिवारको दुःख देखेर आफूहरुको अगुवाई र सबैको सरसहयोगमा घर निर्माण गर्न लागिएको संयोजक पाठकले बताए ।